
प्रमिला लम्साल : न्यायको खोजी गर्ने मानिसको आँखामा सधैं आशा हुन्छ। तर, यदि न्याय प्रदान गर्ने प्रणालीमा करुणाको अभाव भयो भने, त्यो न्याय कठोर दण्ड मात्र बन्न पुग्छ । न त आत्मीय, न त मानवीय नै । जीवन केवल नियमबाट होइन, भावना, संवेदना र समझदारीबाट पनि चल्दछ। बुद्धका शिक्षाबाट पनि हामी यही कुरा सिक्न सक्छौं—प्राकृतिक नियम जीवनको स्वाभाविक लय हो, र करुणा त्यही लयभित्रको आत्मा। बुद्धले देखाएको मार्ग केवल धार्मिक वा आध्यात्मिक मात्र होइन, त्यो एक न्यायपूर्ण, करुणायुक्त र प्राकृतिक सन्तुलनमा आधारित जीवनशैली हो। जब कुनै व्यक्तिले अपराध गर्छ, उसलाई सजाय दिनुपर्छ भन्ने कुरा स्वाभाविक हो। तर बुद्धको दृष्टिमा त्यसअघि केही प्रश्नहरू महत्वपूर्ण छनः उसले किन त्यस्तो गर्यो? के उसमा परिवर्तनको सम्भावना छैन? के न्याय सधैं प्रतिशोधमा आधारित हुनुपर्छ? यि र यस्ता प्रश्नहरूले बौद्ध न्यायदृष्टिकोणको आत्मा उजागर गर्छन्। बौद्ध दर्शनमा आधारित न्यायशास्त्रले आजको कठोर, दण्डप्रधान र प्रतिस्पर्धात्मक कानुनी प्रणालीलाई नयाँ मानवीय दृष्टिकोण दिन्छ। जहाँ न्याय केवल कानुनी पालना मात्र होइन, सजीव प्राणीहरूप्रति करुणायुक्त व्यवहार पनि हो।
बुद्धले सिकाउनु भएको कुरा स्पष्ट छ कि कानुनको नाममा हिंसा होइन, करुणा आवश्यक छ। प्राकृतिक नियम र करुणा दुवै बौद्ध न्यायशास्त्रको मूल प्रवाह हुन्। यस न्यायदृष्टिको आधार नै करुणा, नैतिकता, सहिष्णुता र आत्मीय जिम्मेवारी हो। बौद्ध न्यायशास्त्र नियमहरूको संग्रह मात्र होइन; यो एउटा यस्तो मूल्य प्रणाली हो, जसले न्यायलाई मानवता, करुणा र विवेकसँग जोड्दछ।
बौद्ध न्यायशास्त्र केवल दण्ड केन्द्रित कानुनी संहिता होइन; यो त आन्तरिक सुधार, आत्मअनुशासन र नैतिक रूपान्तरणको मार्ग हो। बुद्धले विनय पिटकमार्फत समाजका लागि यस्ता व्यवहारिक नियमहरूको निर्माण गर्नुभयो, जसले बाह्य नियन्त्रण होइन, आत्मविवेकमार्फत शान्ति र अनुशासनमा समाज सञ्चालन गर्ने दृष्टिकोण दिन्छ। विनय पिटकमा भिक्षुहरूका लागि २२७ र भिक्षुणीहरूका लागि ३११ नियमहरूको व्यवस्था छ, जसमा आत्मपरिवर्तन र क्षमताको विकास मुख्य विषयवस्तुका रूपमा रहेका छन्। यस्तै, पञ्चशील बौद्ध अनुयायीका लागि केवल धार्मिक विधि नभई जीवनमार्ग निर्देश गर्ने संविधान सरह व्यवहारिक कानुनका रूपमा छन्। यी नियमहरूले समाजलाई हिंसारहित, सत्यनिष्ठ र संयमी बनाउन आधार प्रदान गर्छन्। यिनै मूल्यहरूले करुणा र प्राकृतिक न्यायको संयोजनलाई जीवन्त बनाउँछन्।
प्राकृतिक नियम भनेको यस्तो नियम हो जुन न त राजा वा सत्तामा रहनेले बनाउँछ, न संसदले पास गर्छ। यो त जीवनको स्वाभाविक लयले निर्माण गरेको सार्वभौमिक सिद्धान्त हो, जुन सम्पूर्ण प्राणीमा स्वतः लागु हुन्छ। बौद्ध दर्शनले यस्ता नियमहरूलाई मान्यता दिएको छ, जसले संसारलाई कर्म, सत्य र सन्तुलनमार्फत सञ्चालन गर्छ। बुद्धको भनाइले यसलाई अझ प्रस्ट बनाउँछ:
“नियमले होइन, समझले समाज चल्छ; नियमले होइन, चेतनाले न्याय हुन्छ।”यही चेतना करुणामा आधारित छ। करुणा केवल ‘माफ गर’ भन्ने भावना होइन, यो त पीडितको पीडालाई महसुस गर्ने र त्यसप्रति समझदारी प्रकट गर्ने आन्तरिक क्षमता हो। बुद्धले करुणालाई सामाजिक नियम सरह मानेका छन्—जहाँ माया, क्षमा, र समानता केन्द्रमा हुन्छन्। यसै दृष्टिकोणले बौद्ध न्यायशास्त्रलाई पुनर्स्थापनात्मक न्याय (restorative justice) सँग निकट बनाउँछ, जसले पीडित र अपराधी दुवैको मानवता बुझ्न प्रयास गर्छ। आजको प्रतिस्पर्धात्मक, जटिल र कठोर कानुनी प्रणालीमा, यदि करुणा मिसिएन भने, कानुन केवल शक्तिको साधन बन्न पुग्छ। करुणाले न्याय प्रणालीलाई संवेदनशील बनाउँछ, जहाँ सुधार, पश्चाताप, र पुनर्स्थापना सम्भव हुन्छ। बुद्धले बारम्बार घृणालाई घृणाले होइन, करुणाले जित्नुपर्छ भन्ने शिक्षा दिएका छन्। यही नै आजको न्याय प्रणालीमा सबैभन्दा सान्दर्भिक सन्देश हो।
नेपालको संविधान २०७२ को धारा १६ मा “सम्मानपूर्वक जीवन यापन गर्ने हक” उल्लेख गरिएको छ, जुन बौद्ध धर्मको पञ्चशीलको पहिलो शील (प्राणी हत्या नगर्ने) सँग गहिरो सम्बन्ध राख्दछ। धारा १८ मा समानताको हक दिइएको छ, जसमा बौद्ध दृष्टिकोणको करुणा र भेदभावविरोधी भावना झल्कन्छ। त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४, र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९७६ का प्रावधानहरू बौद्ध दृष्टिकोणसँग सजीव मेल खान्छन् जसमा निष्पक्ष सुनुवाइ, पीडितमैत्री व्यवहार र आत्म-सुधारको अवसर सुनिश्चित गरिएको छ।
बुद्धको शिक्षा न्यायलाई केवल “विधिको अनुपालन” मात्र होइन, मानवता र चेतनाको अभ्यास पनि ठान्दछ। बुद्धको शिक्षामा करुणाले सजायलाई नरम बनाउँदै अपराधीमा सुधारको सम्भावना देख्छ। उदाहरणस्वरूप, अपराध गर्नुपूर्व उसले किन यस्तो कार्य गर्यो? के त्यो अवस्था नियतबाट थियो वा परिस्थितिको उपज?—यिनै सवालहरूले बौद्ध न्याय दृष्टिकोणलाई विशेष बनाउँछन्। यस दृष्टिकोणले आजको कानुनी प्रणालीमा एउटा गहिरो प्रश्न खडा गर्छ: “हामी निर्णय त दिन्छौं, तर के हामी पीडालाई सुन्छौं?” बुद्धको शिक्षा यही भन्छ कि “न्याय लेखियोस्, तर जनताको पीडा सुनेर लेखिएको होस्।”
अन्तत बौद्ध दर्शनमा न्याय केवल दण्ड दिनको लागि मात्र होइन ,आत्माशुद्धि ,पश्चाताप र पुनर्स्थापनाको माध्यमका रुपमा बुझ्न सकिन्छ। बुद्धले सधैं मानिसका भावना अवस्थाहरु र गल्तीहरुलाई परिस्थितिको आँखाले हेरे, न कि दोषको रुपमा मात्र। यही सोच आजको न्याय प्रणालीमा पनि आवश्यक छ। जब हामी प्राकृतिक नियमको कुरा गर्छौं हामी त्यो नियमको कल्पना गर्छौं कि जुन नियम संसारकै सबै प्राणीमा समान रूपमा लागू होस् त्यसैले हामीले आधुनिक कानुनी प्रणालीको विकास गर्दा बौद्ध दर्शनको करुणा नैतिकता र मानवतावादी दृष्टिकोणलाई बिर्सनु हुँदैन कानुन कठोर हुन सक्छ तर त्यसमा करुणा मिसियो भने मात्र न्यायपूर्ण हुन सक्छ।
भवतु सब्ब मंगलम्!
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटि क्याम्पसमा बि.ए.एल.एल. बि. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन।)