
बामदेव खड्का
वर्तमान समयको राजनीतिक, सामाजिक, आर्थिक र नैतिक सङ्कटको बिचमा बुद्धले करिब छब्बीससय बर्ष पहिले दिएका शासकीय बिचार तथा शिद्धान्तहरु आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेका छन्। बुद्धले न्यायपूर्ण राज्य र समतामूलक समाजको परिकल्पना गर्दै राजा तथा शासकका लागि दश वटा नैतिक धर्महरू बताएका थिए। जसलाई दशराजधर्म भनिन्छ।
राज्यमा असमानता, विभेद, न्याय र हिंसाका विरुद्ध ऐतिहासिक रूपमा विभिन्न विचारधाराहरू आएका छन्। तर ती विचारधाराहरूमध्ये बुद्धको ज्ञान, विचार तथा शिक्षाले आजको दिनमा पनि सर्वाधिक सान्दर्भिकता एवं मान्यता बोकेको देखिन्छ। बुद्धले सामाजिक समता, न्यायको स्थापना र अन्यायका विरुद्ध शान्तिका लागि स्पष्ट बाटो देखाउनुभएको थियो। बुद्धको विचारमा राज्य केवल शक्ति प्रयोग गर्ने केन्द्र होइन, राज्य भनेको जनताको सुगमताका लागि उत्तरदायित्व बोध गर्ने संस्था हो।
दशराजधर्मको आसय र वर्तमान शासकमा यसको सान्दर्भिकता
नेतृत्व र नैतिकताको सम्बन्ध सधैंको लागि गहन र संवेदनशील विषय रहँदै आएको छ। विशेषतः नेपाल जस्तो बहुलवादी समाजमा जहाँ नेतृत्वप्रति अपेक्षा उचाइमा छ, त्यहाँ शासकको नैतिक चरित्र, सेवा भावना र विवेकपूर्ण निर्णय क्षमताका बारेमा निरन्तर प्रश्न उठिरहन्छ। यही सन्दर्भमा दशराजधर्म आज पनि उत्तिकै सान्दर्भिक छ। दशराजधर्मत्यस्तो शासकीय नैतिक निर्देशिका हो, जसमा नेतृत्वले धारण गर्नुपर्ने दस गुणहरू उल्लेख छन्ः दान, शील, त्याग, आज्जव, मध्दव, तप, अक्रोध, क्षान्ति, अविहिंसा र अविरोध। यी गुणहरू कुनै धार्मिक कर्मकाण्डका अभ्यास होइनन्, बरु व्यवहारमा लागु गर्न सकिने व्यावहारिक मार्गदर्शन हुन्। यी दश धर्मको मूल आसय भनेको शासकले सत्ताको लोभभन्दा माथि उठी जनताको सेवामा समर्पित हुनु हो। शक्ति होइन, सहानुभूति; अधिकार होइन, उत्तरदायित्व भन्ने भावनालाई नेतृत्वको केन्द्रमा राख्नु नै दशराजधर्मको मर्म हो।
तर जब आजको नेपालको शासन र राजनीतिक संरचनामा दृष्टि पुर्याइन्छ, यी सिद्धान्तहरू नीति कागजको झझल्को मात्र भएर बसेको देखिन्छ। संविधानले समावेशी शासनको ढोका खोलिदिएको छ, कानुनले भेदभावविरुद्धको हक सुनिश्चित गरेको छ, तर व्यवहारमा नेतृत्वले आफ्ना निजी स्वार्थ, शक्तिको लिप्सा र पदको मोहलाई प्राथमिकता दिँदै आएका छन्।‘दान’ को प्रसंगमा सरकारका तर्फबाट राहत, भत्ता, सामाजिक सुरक्षा कार्यक्रमहरू अवश्य छन्, तर यी कार्यक्रमहरू पहुँचवालामै केन्द्रित भइरहँदा वास्तविक दातव्य भावना हराएको महसुस हुन्छ। ‘शील’ अर्थात् नैतिक आचरणको खाका कानुनमा त छ, तर त्यसलाई आत्मसात् गर्ने इमान्दारी नेतृत्वमा व्यापक देखिँदैन। ‘त्याग’ र ‘तप’ जस्ता गुणहरू त वर्तमान नेतृत्वमा भेटाउनै सकिदैन्। सार्वजनिक पदमा बसेका व्यक्तिहरूबाट निजी स्वार्थभन्दा माथि उठ्ने अपेक्षा गरिन्छ, तर पदको दुरुपयोग, परिवारवाद र सत्तामोहको पराकाष्ठाले त्यागको मूल्य नै अवमुल्यन भएको अनुभूति हुन्छ।
‘अज्जव’ अर्थात शासकको नैतिकता, जवाफदेहीता, पारदर्शिता र नैतिक स्रोतप्रतिको प्रतिबद्धता जस्ता कुराहरु हरेक शासकका तथा नेतृत्वमा जाने व्यक्तीका आधारभूत गुणहरु हुनु पर्ने हो। तर भ्रष्टाचार, कमीशन, करछलीजस्ता गतिविधिहरू राजनीतिमा सामान्यजस्तै बन्नु शासकको आजीवकर्ममाथिको गम्भीर प्रश्न हो। ‘अक्रोध’ र ‘मद्धव’ जस्ता गुणहरू अझ संवेदनशील छन्, किनभने यी नेतृत्वको मानसिक परिपक्वता र जनता प्रतिको दृष्टिकोणसँग प्रत्यक्ष जोडिएका छन्। वर्तमानमा लापरवाही, घमण्डपूर्ण व्यवहार, र आवेगमा आधारित निर्णय प्रक्रियाहरूले राज्य व्यवस्थामा अविश्वास र असन्तुष्टि जन्माएको छ।
यद्यपि सबै शासकमा नकारात्मक मूल्य नै हाबी छन् भन्ने ठम्याउनु गलत हुन्छ। केही उदाहरणहरू प्रेरणादायी पनि छन्, जहाँ विनम्रता, सेवा–भावना र समर्पण देखिन्छ। तर यस्ता उदाहरणहरू न्यून हुनु नेतृत्व तहमा दशराजधर्मको सशक्त अनुप्रयोग हुन नसकेको संकेत हो।
शासकको चरित्र केवल पदमा होइन, व्यवहारमा पनि नापिन्छ। आजको जटिल राजनीतिक परिस्थितिमा जब नेतृत्वको नैतिकता, संवेदनशीलता र उत्तरदायित्वमाथि प्रश्न उठिरहेका छन्, त्यही बेला बुद्धद्वारा प्रतिपादित दशराजधर्म जस्तो मार्गदर्शक शिक्षा झनै सान्दर्भिक बनेको छ। शासकले धारण गर्नुपर्ने दस धर्महरू केवल आदर्श होइनन्, व्यवहारमा उतार्न सकिने व्यावहारिक शिक्षाहरू हुन्। यी मूल्यहरूले शासकलाई लोभ र अहंकारबाट माथि उठाएर सेवा र करुणाको बाटोमा डो-याउँछन्।
नेपालमा यौन हिंसा, घरेलु हिंसा, बालबालिका र अल्पसंख्यक समुदायमाथिका हिंसाका विरुद्ध कानुनी व्यवस्था भए पनि व्यवहारमा अझै अभाव देखिन्छ। खासगरी देशका केही पश्चिमी पहाडी जिल्लाहरूमा अझै पनि महिलामाथि चरम हिंसा, छाउपडी प्रथा र बली प्रथा जस्ता परम्परागत अमानवीय अभ्यासहरू कायम छन्। यी प्रवृत्तिलाई अन्त्य गर्ने कार्य नेतृत्वको संवेदनशीलता र अहिंसात्मक सोचमा निर्भर छ।
दशराजधर्ममा अर्को महत्त्वपूर्ण गुण क्षान्ति अर्थात सहनशीलता हो। नेतृत्वको विरोध हुनु अस्वाभाविक होइन, तर त्यसलाई धैर्यपूर्वक सुन्ने र बुझ्ने क्षमता नेतृत्व हुनु पर्दछ। आजको नेपालको राजनीतिक परिवेशमा, जब जनप्रतिनिधिमाथि जनआक्रोश, प्रश्न र नाराबाजी आकासिदो छ, त्यस्तो समयमा नेतृत्वले मनोबल गुमाउने होइन, ओठेजवाफ फर्काउने पनि होइन। आलोचना सुनेर सुधारको बाटो रोज्नु अपरिहार्य हुन्छ। यसैगरि समान रूपमा विचार गरिनुपर्ने अर्को गुण अविरोध हो अर्थात अरुको दृष्टिकोणको सम्मान। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा सबै समुदायको सम्मान र सहभागिता आवश्यक छ। यद्यपि संविधानले समता र सद्भावको शुनिश्चितता गरेपनि व्यवहारमा जातीय विभेद, क्षेत्रीय असन्तुलन, र सामाजिक असमानता कायमै छ। यसले देखाउँछ कि सहिष्णुता र सहकार्यको भावना अझै टड्कारो आवस्यकताको विषय रहेको छ।
राज्यका नेतृत्वमा रहेका व्यक्तीले गर्ने दशराजधर्मको प्रयोगले देशमा दूरगामी प्रभाव पार्दछ। भारतिय सम्राट अशोक यसको ऐतिहासिक उदाहरण हुन्। कलिङ्ग युद्धपछि उनले बुद्धको शिक्षाबाट प्रेरणा लिएर युद्ध परित्याग गरे र धम्म विजय को मार्ग रोजे। अस्पताल, विद्यालय, बाटाघाटा, पिउने पानीको व्यवस्था, वन संरक्षण जस्ता जनकल्याणकारी योजनाहरूमार्फत उनले शासनलाई सेवा र करुणामा रूपान्तरण गरे।
आज नेपालमा पनि दशराजधर्मलाई आत्मसात् गर्ने प्रतिवद्धताको जरुरी देखिन्छ। तर दुःखद कुरा, अहिलेको राजनीति यथार्थमा भ्रष्टाचार, सत्ता केन्द्रित सोच, नेतृत्वको गैरजवाफदेहिता र जनभावनाको उपेक्षाजस्ता दुर्दान्त पक्षहरुले आक्रान्त छ। नेतृत्व शासक बन्न खोज्छ, सेवक बन्न होइन । यो अवस्थाको अन्त्य हुनु जरुरी छ। यसले केवल शासकको स्वभाव मात्र निर्माण गर्दैन, राष्ट्र र नागरिकबीचको सम्बन्धमा करुणा, सहनशीलता, पारदर्शिता र जवाफदेहिता पनि स्थापित गर्दछ। जब नेतृत्वमा रहेका व्यक्तिहरू बुद्धका यी शिक्षालाई व्यवहारमा उतार्छन्, त्यतिबेला मात्र नागरिकमा विश्वास जागृत हुन्छ र स्थायी शान्ति, सामाजिक न्याय र साचो अर्थमा राष्ट्रको समृद्धिको सपना साकार हुन थाल्छ। अनि बल्ल बन्छः समृद्ध नेपाल, अनि बन्छन् सुखी नेपाली।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटि क्याम्पसमा बि.ए.एल्.एल्. बि. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्।)