बुद्धको स्मृति ध्यानः चेतनाको प्रारम्भिक ज्ञान

 

 कमल सिलवाल
शरीर यात्राको लामो अनुभव पछि बल्ल जीवन यात्रा आरम्भ गर्ने अवसर मिल्यो । विश्वका अधिकांश मानिसको जस्तै मेरो दैनिकी पनि त्यही होड र त्यही दौडबाटै आरम्भ हुन्थ्यो (अझै हुन्छ पनि) अनि त्यही थकित र जबरजस्ति हाँस्न खोज्दै दिनको बिश्राम हुन्थ्यो । लुम्विनी बौद्ध विश्वविद्यालयको विद्यार्थी बनेपछि गत हप्ता एउटा अवसर प्राप्त भयो, राजकीय थाइ विहार, लुम्बिनीले आयोजना गर्न लागेको सातदिने स्मृति ध्यानमा सहभागी हुने ।
आजको यो व्यस्त जीवनशैली, तनाव र मानसिक अशान्तिले गर्दा हामीहरू शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि अस्वस्थ हुँदैछौँ । यस्तो अवस्थामा स्मृति ध्यान ९ःष्लमागलिभकक ःभमष्तबतष्यल० को अभ्यासले हामीलाई वर्तमान क्षणमा जिउन सिकाउने रहेछ र तनाव, चिन्ता, र नकारात्मक विचारहरूबाट मुक्त गराउने रहेछ । स्मृति ध्यानले वर्तमानलाई पूर्ण रूपमा अनुभव गर्ने मौका दिने रहेछ, जसले गर्दा व्यक्तिले आफूलाई शान्त, सन्तुलित र सचेत राख्न सक्ने रहेछ । जो छ, जे छ, जस्तो छ त्यसलाई त्यसै गरी स्वीकार गर्ने कलाको विकास गर्ने प्रथम चरण नै स्मृति ध्यान रहेछ ।
सामान्यतया ध्यान भन्ने वित्तिकै मेरो मनमा एक किसिमको डर उत्पन्न हुने गथ्र्यो । कडा अनुशासन, निर्धारित समय (ब्रह्म मुहुर्तको अवधारणा), निर्धारित पहिरन लगायतका कुराहरुले “यो अलि उमेर ढल्केपछि गर्नु पर्ला” भनेर ध्यान अभ्यासलाई कहिल्यै पनि प्राथमिकतामा पारेको थिइन । तर, जब म मेरा मित्रहरु सहित राजकीय थाइ विहार, लुम्बिनीले आयोजना गरेको सात दिने स्मृति ध्यान कार्यक्रममा सहभागी बनेँ, तब मेरा सबै पूर्वधारणाहरु मात्र नभई स्वयम्को स्वयम्, परिवार र समाज लागयत विश्व परिवेशलाई हेर्ने दृष्टकोण नै बदलिएको पाएँ । वर्तमानमा बाँच्ने अनि बस्तु, व्यक्ति र अवस्थालाई जे जस्तो छ त्यस्तै गरी हेर्नु, चिन्नु र स्वीकार गर्नु अनि स्वसन्तुलनको लागि ध्यान कति महत्वपुर्ण रहेछ भन्ने अनुभव गर्ने अवसर पाएँ । ध्यान कुनै जटिल र विशेष उमेर वा वर्गको लागि मात्र होइन यो त शरीर र मनलाई जोड्ने विशेष सुत्र रहेछ भन्ने बोध भयो । धर्म, सम्प्रदाय, जात, उमेर, लिङ्ग, वर्ग जस्ता मानवनिर्मित अवधारणाहरुलाई चिर्दै ध्यानले कसरी मानवीय सम्बन्धलाई स्थापित गर्न मद्दत गर्छ भन्ने कुराको प्रत्यक्ष अनुभव भयो । भनिन्छ “धेरै सोच्ने बानीले मानिसलाई रोगी बनाउँछ” । आधुनिक युगमा मानिसहरू शारीरिक रूपले सक्रिय भए तापनि मानसिक रूपले अत्यधिक थकित छन् । यही कारणले गर्दा मनको शान्ति, एकाग्रता र आत्मसन्तुलनको लागि स्मृति ध्यानको अभ्यास अहिलेको प्रमुख आवश्यकता हो भन्ने निर्णयसम्म पुगेँ ।
के हो स्मृति ध्यान?
स्मृति ध्यान जसलाई आम बोलचालको भाषामा माइन्डफुलनेस भनेर चिनिन्छ वा सम्बोधन गरिन्छ । बुद्धले सिकाउनु भएको ध्यानका चरणहरुमा यो प्रारम्भिक चरण हो ।
सामान्य अर्थमा भन्दा वर्तमानमा पूर्ण रूपमा जागरूक भएर बाँच्ने कला नै बुद्धले सिकाउनु भएको स्मृति ध्यान हो । यसको मूल उद्देश्य भनेको “जे छ, जस्तो छ, त्यसलाई आफ्नो निर्णय वा विचार नथोपरी स्वीकार गर्ने अभ्यास गर्नु हो ।” विगतको पीडा र आगतको चिन्ताबाट मुक्त भएर वर्तनमानमा बाँच्न र केन्द्रित हुन सिकाउने विद्या नै स्मृति ध्यान हो । यो कुनै जटिल विज्ञान होइन, यो त आफ्नो मनसँग बस्ने कला पो रहेछ । जीवनलाई अझबढी अर्थपूर्ण बनाउन मद्दत गर्ने सीप पो रहेछ । किन भगवान बुद्धले “मनको शान्ति नभएको मानिसले संसारका सबै सुखहरू पाए पनि ऊ सँधै रित्तै हुन्छ” भन्नु भएको रहेछ भनेर थाहा पाउने माध्यम भनेकै स्मृति ध्यान हो ।
भगवान बुद्धले सत्ती पठ्ठान भनेर स्मृति ध्यानको शिक्षा दिनुको अर्थ स्वःअनुशासन र दुःखमुक्तिको लागि हो भनेर मज्झिम निकायमा उल्लेख छ । स्मृति ध्यान विपश्यना ध्यान होइन तर विपश्यना प्रवेशको पहिलो चरण चाहिँ हो । विपश्यना ध्यानले वास्तविकताको गहन अवलोकन गर्दै अनित्य, दुःख र अनात्मको ज्ञान तर्फ लिएर जान्छ भने स्मृति ध्यानको अभ्यासले एकाग्रता, स्वनियन्त्रण र शारीरिक एवम् मनसिक आरामको चरणमा लिएर जान्छ र सजगताको विकास गराउँछ ।
किन स्मृति ध्यान?
ससाना व्यवहारगत् समस्याका कारण उत्पन्न भएका विशाल कलहहरु, आचरणगत विचलनका कारण देखिएका वैयक्तिक पतनहरु अनि स्वअनुशानको अभावमा सृजित शारीरिक र मानसिक असन्तुलनहरु हाम्रा नियमित समाचारहरु हुन् । आजको सन्दर्भमा हामी जसरी भए पनि बाँच्नु पर्छ भन्ने मनोविज्ञानबाट प्रेरित, प्रभावित र बाँधिएका छौँ । यही मनोविज्ञानले हामीलाई मान्छेबाट मसिनतिरको यात्रामा डोहोर्याउँदैछ । फलस्वरुप विशाल भौतिक सुख सुविधाहरुको आविष्कार, संकलन र उपयोग गरिए तापनि मानसिक सुखको अनुभुतिबाट हामी कोशौँ पर छौँ । तनाव, चिन्ता, डिप्रेसन आजका सामान्य शब्दावली मात्र नभई हाम्रा दैनिकी बनेका छन् । स्वयम्लाई, परिवारलाई र समाजलाई नियाल्ने, बुझ्ने र सहअस्तित्वको सम्बन्ध स्थापित गराउने तर्फ हाम्रा पाइला नचलेको आजको अवस्थामा एकैछिन भए पनि स्वयम्लाई स्वयम्को माध्यमबाट तटस्थ भावमा अवलोकन गर्ने एउटा माध्यम हो स्मृति ध्यान ।
व्यवस्थापकीय व्यस्तता र दैनिक देखा पर्ने अनेकौँ उल्झनहरुका बिच पनि छोटो समयमा स्वयम्लाई संतुलित र जागरुक पार्न गरिने कृयाकलाप भएको हुँदा स्मृति ध्यान कुदाकुदको यो युगमा सहज, सरल र सुगम उपाय हो । भगवान बुद्ध भन्नुहुन्छः “संसार जित्नु छ भने पहिले आफ्नै मनलाई जीत ।”

कसरी गर्ने स्मृति ध्यान?
ध्यान भन्ने बित्तिकै हाम्रो मन निश्चित आशन, निश्चित समयको जुन तस्विर आउँछ एकछिन त्यसलाई अलि पर सारौँ र एकैछिन मनन गरौँ तः
हामीले आफ्ना दैनिकीहरुमा कतिपटक ससाना भुलहरु गरेका छौँ होला । हातमा भएको सामग्रीलाई यताउता खोजेका छौँ होला अवथा सँधै हिँडिरहेको बाटोमा ठोक्किएका छौँ होला वा कति पटक सामान बिर्सिएर दुख पाएका छौँ होला । आखिर किन त्यस्तो हुन्छ ? यसको सहज उत्तर छ, हामी तत् तत् समयमा सजग भएनौँ । सजगताको अभ्यासका लागि निश्चित समय वा स्थानको आवश्यकता नपर्ने रहेछ । स्मृति ध्यान अभ्यास जुनसुकै समय वा अवस्थामा पनि सम्भव रहेछ किनभने यसको मुल उद्देश्य स्वयम् र स्वयम्का गतिविध प्रति सजगताको विकास रहेछ ।
खाना खाँदा होस या यात्रामा होस, कपडा लागउँदा होस् या बार्तालापका समयमा होस, सवाधानी र होस पूर्वक गरिने क्रियाकलापका अभ्यासहरु नै स्मृति ध्यानका अभ्यासहरु रहेछन् । शरीरको हाउभाउलाई ध्यान दिनु, बोलिएका शब्दहरुमा ध्यान दिनु, खाइएका गाँसहरुमा ध्यान पुर्याउनु, चालिएका पाइलाहरुलाई याद गर्नु यी सबै ध्यान नै त रहेछन् । यसको सुरुवात भने आफूले फेर्ने सासमा ध्यान दिदै गरिने रहेछ । यी र यस्ता तमाम दैनिक जीवनका गतिविधिहरुमा अपनाइने सजगताको अभ्यास नै स्मृति ध्यानको अभ्यास रहेछ । हरक्षण र हर कृयाकलापमा सावधानी र सजग भए जतिबेला पनि स्मृति ध्यानको अभ्यासमा सहभागी भइने रहेछ । सजगता नै यसको मुल इकाइ रहेछ ।
राजकीय थाइ विहारमा ध्यान अभ्यासका क्रममा रहँदाको मेरो सिकाइः
बौद्ध दर्शन र बुद्ध देशनाहरुको अध्ययन गर्ने क्रममा “यस्तो पनि हुन्छ र ?” भन्ने प्रश्नहरु बारम्बार मनमा नआएका होइनन् । एप्लाइड बुद्धिजमको विद्यार्थी भएको नाताले बुद्ध देशनालाई जीवनमा कसरी प्रायोगिक रुपमा उतार्न सकिएला भनेर प्राध्यापकहरुसँग बार्तालाप नभएको पनि होइन । तर कुनै निश्चित नतिजाको स्वीकृति मनले गरेको थिएन । पञ्चशीलको पालनादेखि लिएर कुशलाकुशल कर्मका सन्दर्भमा कसरी सचेत भएर जीवन चल्ला र भन्ने प्रश्न बारबार आइरहन्थ्यो । जब विहारमा स्मृति ध्यान अभ्यासका लागि प्रवेश भयो, त्यस क्षण पश्चात मनमा उठेका सबै प्रश्नहरुको जवाफ शब्दमा होइन व्यवहार र प्रयोगमा प्रत्यक्षीकरण भयो । विशाल क्षेत्रफलमा फैलिएको विहारमा हामी सहभागी २४ जना थियौँ । वर्षावासका लागि आउनु भएका भिक्षुहरु संख्या पनि ठूलै थियो । सरसफाइ तथा रेखदेखका कर्मचारी, भान्छा व्यवस्थापनका कर्मचारी सबैलाई हेर्दा ठूलै जमघट थियो । मेरो बसाइ सात दिनको थियो । ती सात दिनहरुमा कसैले पनि ठूलो स्वरमा बोलेको वा गुनासो गरेको वा हकारेको वा रिसाएको मैले कतै देखिन । थाइल्याण्ड र कम्बोडियाबाट समेत भिक्षुहरु सहभागी हुनुहुन्थ्यो । भाषागत समस्या भए तापनि वहाँहरु हाम्रा कुरा यसरी चाख दिएर सुन्नुहुन्थ्यो मानौं भाषाको कुनै समस्या नै छैन । भिक्षु र उपासक ÷ उपाशिका मात्र होइन सबैले पञ्चशीललाई स्वभाविक रुपमा अक्षरशः पालना गरेको र त्यही अनुरुप जीवन बाँचेको प्रत्यक्ष ज्ञात भयो । तटस्थ भाव कसरी उत्पन्न हुन्छ होला भन्ने प्रश्नको जवाफ भर्खरै प्रवज्या लिनुभएका भिक्षुको अनुभवले र व्यवहारले मेरो किताबी एप्लाइड बुद्धिजमलाई साँच्चिकै प्रायोगिक (ब्उउष्अिबदभि) बुद्धजम् बनायो । स्व–अनुशासनले स्वयम्लाई र वरपरको वातावरणलाई कसरी सहज र प्राकृतिक रुपमा व्यवस्थापन गर्न सकिने रहेछ भन्ने कुराको गहिरो ज्ञान भयो । शब्द भन्दा पहिले मुस्कानले मन जित्ने सबैको स्वभाव मेरा लागि संसारकै सबैभन्दा ठुलो ज्ञान रह्यो । श्रद्धा र सम्मान अनि कडा अनुशासनको प्रिय मिश्रण जीवनमा उतार्न सके म पनि मानिस बन्न सकुँला कि भन्ने सोचका साथ सात दिन सकिएको पत्तै भएन ।
र अन्तमाः
यो अवसर प्रदान गर्ने मेरो विश्वविद्यालय (लुम्बिनी बौद्ध विश्वविद्याल) र मेरा प्राध्यापक तथा सहभागिताको लागि उत्प्रेरित गर्ने मेरा मित्रहरु प्रति जति कृतज्ञता प्रकट गरे पनि कमै हुनेछ । प्रशिक्षकका रुपमा रहनुभएका गुरु भन्ते प्रति आजीवन कृतज्ञ रहनेछु ।
(यस संस्मरणात्मक आलेखका लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययन संकायमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation