कुलिन्ताको किल्लामा थुनिएको क्रान्ति

गणेश आचार्य

नेपालको राजनीतिक आन्दोलन बाट प्राप्त उपलब्धिहरु कुनिनताको किल्ला भित्र सिमित हुने गरेको छ । मुलत आम मान्छेको पहुचको राजनीतिक आन्दोलन भनेको कम्युनिस्ट आन्दोलन हो । त्यहि कारण यहा कम्युनिस्ट आन्दोलन र मुद्दाहरुलाइ नै केन्द्रमा राखेर चर्चा गर्न खोजिएको छ । ऐतिहासिक रुपमा कम्युनिस्ट आन्दोलनले एक महत्वपूर्ण प्रभाव छोडेको छ। यो आन्दोलनले अन्याय, शोषण, विभेद, असमानता र सामन्तवादविरुद्ध आवाज उठायो। जनताको मुक्ति, समानता र समावेशी समाज निर्माण गर्ने लक्ष्यले जन्मिएको यस आन्दोलनले लामो समयसम्म जनताका आँखामा आशाको किरण बोकेको थियो । उग्रवामपन्थी अराजकता बाट दक्षिणपन्थि अबसरबादमा अवतरण भएपछि यसको स्वरूप, उद्देश्य र व्यवहारमा गम्भीर विचलन देखिन थालेको छ । आज धेरैले यो आन्दोलनप्रति विश्वास गुमाउन थालेका छन् । त्यसको मुल कारण भनेको बुर्जुवाकरण भएको कम्युनिस्ट आन्दोलन हो । त्यहि चिन्तन , चरीत्र र समग्र अन्याका विरुद्ध उठाउने भनिएको मुक्ति आन्दोलनको अबस्था , प्रवृत्ति र चरीत्रका विषयमा यहा चर्चा गर्ने कोशिस गरिएको छ ।

आजको कम्युनिस्ट नेतृत्वमा देखिएको प्रवृत्ति जनताको मुक्ति भन्दा पनि सत्ता संरक्षणको भूमिकामा सीमित छ। जातीय, लैङ्गिक र वर्गीय विभेद जस्ता संरचनालाई अन्त्य गर्ने सपनाले सुरु भएको आन्दोलन अहिले तिनै विभेदहरूको संरक्षक बनेको छ। कम्युनिस्ट आन्दोलन समतामूलक क्रान्तिको बाटोबाट चिप्लिएर कुलिन चरित्रको किल्लामा थुनिएको छ। कम्युनिस्ट आन्दोलनको जन्म राज्यसत्ता र पूँजीवादी शोषण विरुद्ध आवाज उठाउन सुरु भयो । यो आन्दोलनले श्रमिक, किसान, महिला, दलित र जनजातिलाई उत्पीडनबाट मुक्त गर्ने अठोट लिएको थियो । तर वर्तमान यथार्थ भने फरक छ । आजका कम्युनिस्ट भनिने कतिपय नेताहरूमा सामन्ती प्रवृत्ति देखिन्छ । उनीहरूको जीवनशैली, भाषा, व्यवहार र नेतृत्व शैलीमा सामन्तवादको झल्को स्पष्ट छ। उनीहरू भव्य बंगला, विलासी सवारी साधनमा रमाउँछन् र जनताको दुःखभन्दा सत्ता जोगाउने खेलमा व्यस्त छन् । यो अवस्था सामन्तवादको नयाँ रूप हो जुन क्रान्तिको मूल उद्देश्यबाट टाढा लैजाने प्रवृत्ति हो।

सामन्ती चरित्र भन्नाले सत्ताको केन्द्रिकरण, पद र शक्तिमा एकाधिकार जमाउने, विभेदकारी सोचलाई संरक्षण गर्ने, व्यक्तिगत हितलाई प्राथमिकता दिने र आलोचनालाई दमन गर्ने प्रवृत्तिहरूलाई जनाउँछ। यी प्रवृत्तिहरू आजका धेरै नेताहरूमा देखिनु दु:खद हो। आन्दोलनको उद्देश्य बिर्सेर उनीहरू सत्ताको निरन्तरता र व्यक्तिगत लाभतर्फ लागेका छन्।

कम्युनिस्ट आन्दोलनले जातीय विभेद अन्त्य गर्ने लक्ष्य राखेको थियो। तर आज पनि दलित, आदिवासी, मधेसी लगायत पिछडिएका समुदायहरू राजनीतिक निर्णय प्रक्रियाबाट बहिष्कृत छन्। यद्यपि केही प्रतिनिधि नेताहरू अगाडि आएका छन्, तर तिनीहरूले समुदायको मुद्दा भन्दा आफ्नै पद र फाइदालाई प्राथमिकता दिएका छन्। दलित समुदायका धेरै युवा, महिला र बौद्धिकहरू अझै पनि पार्टीभित्र अवसरबाट वञ्चित छन्। तिनको आवाज दबाउने प्रवृत्ति देखिन्छ । जातीय समावेशीता केवल औपचारिकता मात्र बनेको छ; वास्तविक निर्णयमा उनीहरूको सहभागिता छैन। यस्तो अवस्थाले समावेशीताको नाममा चलिरहेको नाटकलाई स्पष्ट पार्दछ।

महिला नेतृत्व र सहभागिताको कुरा गरिन्छ, तर वास्तविकता निराशाजनक छ। पार्टीभित्र महिला नेतृहरूलाई नेतृत्व दिने सट्टा ‘सजावट’को रूपमा मात्र प्रस्तुत गरिन्छ। उनीहरूले स्वतन्त्र आवाज उठाउन पाउँदैनन्। आवाज उठाउँदा तिनीहरूलाई ‘अपरिपक्व’, ‘अहंकारी’ वा ‘पार्टी अनुशासनविरोधी’ भनेर दबाइन्छ। महिला नेतृहरू नै अरू महिला कार्यकर्तामाथि उत्पीडन गर्छन् भन्ने तथ्य झनै पीडादायक छ। पितृसत्तात्मक संरचनाभित्र गएर महिला नेतृहरू पनि त्यही शैलीको अनुकरण गर्छन्। यस्तो नेतृत्वले महिला आन्दोलनको मूल उद्देश्य पूरा गर्न सक्दैन र समावेशी आन्दोलनलाई कमजोर बनाउँछ।

कम्युनिस्ट आन्दोलनले वर्गीय विभेदको अन्त्य गर्ने अठोट गरेको थियो। तर आज नेताहरू नयाँ प्रकारका कुलिन वर्गमा परिणत भएका छन्। उनीहरूले पार्टी र राज्य संरचनामा कब्जा जमाएर व्यापार, ठेक्का, अस्पताल, विद्यालय, सहकारी, उद्योग आदि क्षेत्रमा प्रभुत्व जमाएका छन्। श्रमिक र किसान वर्गका नाममा राजनीति गर्नेहरूले आफूलाई उद्योगपति र भूमिपतिमा रूपान्तरण गरेका छन्। क्रान्तिको नाममा भएको वर्गीय संघर्ष भाषण र नारामा मात्र सीमित छ। व्यवहारमा श्रमिकको आवाज गुमेको छ र किसान अधिकारमाथि घात भएको छ। यो ‘क्रान्तिको नाममा कुलिनहरूको प्रतिस्थापन’ हो।

दलित समुदायका केही नेताहरू आफूलाई दलित आन्दोलनको प्रतिनिधि भन्दै समुदायमाथि विभेद र शोषण गरिरहेका छन्। उनीहरूले आफ्नो पद र फाइदालाई समुदायभन्दा अगाडि राखेका छन्। दलित युवाहरूको सम्भावना रोकिएको छ र समुदायको विश्वास गुमेको छ। अशिक्षित, गरिब र संघर्षरत दलितहरूलाई आफ्नो व्यक्तिगत लाभका लागि प्रयोग गरिन्छ। निर्णय प्रक्रियामा समुदायको सहभागिता छैन। फलस्वरूप दलित समुदायभित्र निराशा, आक्रोश र असन्तोष बढेको छ। अझ दुखको कुरा त के छ भने कथित दलित अगुवाहरुले कमजोर र अशिक्षित दलितहरुलाइ आफ्नो दुहुनो गाइ बनाइरहेका छ्न ।

जब आन्दोलन आफ्नै सिद्धान्त र मूल्यभन्दा टाढा जान थाल्छ, त्यो आन्दोलन क्रान्तिकारी रहँदैन। आज नेपालमा देखिएको कम्युनिस्ट आन्दोलन यही अवस्थामा पुगेको छ। यो केवल सत्ता प्राप्तिको साधन बनेको छ, परिवर्तनको प्रेरणा होइन। सामाजिक न्याय, समानता र मानव गरिमाका पक्षमा खडा भएको आन्दोलन आज सत्ता र धनको बन्धक बनेको छ। नेतृत्व जनताको सेवक होइन, मालिकझैं प्रस्तुत भएको छ ।

नेपाललाई अहिले आवश्यक छ सही सोच र मूल्य बोकेको नेतृत्व। यस्तो नेतृत्व जसले जनताको वास्तविक समस्या बुझ्छ र समाधान गर्छ। जसले जातीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गर्ने अठोट गर्छ। जसले पारदर्शिता र जवाफदेहिता कायम राख्छ। जसले नयाँ पुस्तालाई अवसर दिन्छ। जसले विपक्ष र आलोचनालाई स्वीकार्छ। र जसले समुदायको हितलाई प्राथमिकता दिन्छ। नेपालको कम्युनिस्ट आन्दोलन एउटा ऐतिहासिक सम्पदा हो र यसको योगदान अमूल्य छ। तर अहिले त्यो आन्दोलन कुलिनताको किल्लामा थुनिएको छ। यस्तो अवस्थामा जनताले आफ्नो अधिकारको पुनः समीक्षा गर्न जरुरी छ। शोषण र विभेदविरुद्धको लडाइँ अझै बाँकी छ। तर त्यसका लागि नयाँ नेतृत्व, नयाँ राजनीतिक संस्कार र जनताको विश्वासमा आधारित राजनीति आवश्यक छ। साँचो क्रान्ति पुस्तान्तरणबाट होइन, मूल्य र निष्ठाको नवीकरणबाट सम्भव हुन्छ। अब समय आएको छ— क्रान्तिलाई कुलिनताको किल्लाबाट निकालेर फेरि जनताको घर आँगनमा ल्याउन जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation