
बलबहादुर आचार्य
मनका बारेमा बौद्ध ग्रन्थ के भन्छ ?
बौद्ध शिक्षाको ग्रन्थ त्रिपिटकको सुक्त पिटकको खुद्दक निकायका १५ वटा ग्रन्थ मध्येको ज्यादै महत्वपूर्ण धेरै भाषामा अनुदित लगभग विश्व भरी अध्ययनको विषय भएको धम्मपदको पहिलो र दोस्रो श्लोकमा मनको बारेमा पाली भाषामा यसरी उल्लेख भएको छ ।
मनो पुब्बङ्गमा धम्मो मनोसेठ्ठा मनोमया ।
मनसा चे पदुट्ठेन भाषाति वा कारोतिवा ।
ततो नं दुखमन्वेति, चक्कवा बहतो पदं ।
अर्थात मन नै हरेक कार्यको अगुवा हो । सवै कार्यमा मन अगुवा भएर अगाडी लागेको हुन्छ । असुद्ध मनले कुनै व्यक्तिले केही बोल्यो वा केहि कार्य गर्यो भने त्यसका परिणामहरुले त्यस मानिसलाई यसरी नकरात्मक रुपले निरन्तर पिछा गर्दछ जसरी एउटा बयलगाडाको चक्काले गोरुलाई पछ्याई रहेको हुन्छ ।
मनो पुब्बङ्गमा धम्मो मनोसेठ्ठा मनोमया ।
मनसा चे पसन्नेन भाषाति वा कारोतिवा ।
ततो नं सुखमन्वेति, छाया वा अनपायिनी ।
अर्थात मन नै हरेक कार्यको अगुवा हो । सवै कार्यमा मन अगुवा भएर अगाडी लागेको हुन्छ । सुद्ध मनले कुनै व्यक्तिले केही बोल्यो वा केहि कार्य गर्यो भने त्यसका असल परिणामहरुले त्यस मानिसलाई जीवनभर यसरी पिछा गर्दछ कि जसरी एउटा मानिसको छायाँले उसलाई सधै पछ्याई रहेको हुन्छ ।
यसरी भन्न सकिन्छ कि मन नै हाम्रा सवै कर्मको केन्द्र भाग हो । मन पवित्र भयो भने सवै कर्महरु राम्रो हुन्छन यदि मन असुद्ध छ क्लेषहरुले भरिएको छ भने हाम्रा हरेक गतिविधि तथा कर्महरु नकरात्मक हुन्छन् र कर्मका परिणामहरु पनि सवै नकरात्मक नै हुन्छन् । हाम्रो शरिरमा भएका पाँच इन्द्रियवाट जव कुनै सूचना हाम्रो मनमा पुग्दछ त्यस सूचनालाई मनन गर्ने, विश्लेषण गर्ने र त्यसको बारेमा उत्तर दिँदै सोही अनुसार कर्मका लागि निर्देशन दिने काम मनवाट नै हुन्छ । मन संसारमा सवै भन्दा तीव्र गति भएको विषय हो । क्षण भरमा हाम्रो मन हजारौ माइल टाढा पुग्न र फर्कन सक्छ । तसर्थ मानिसको कर्मको सवै भन्दा केन्द्रिय भाग यहि अत्यन्त चंचल मन हो र मनलाई स्थिर र सुद्ध बनाउनु नै हरेक कर्म र कर्मफलको पहिलो आधार पनि हो ।
मनका बारेमा बौद्ध ग्रन्थ र बैज्ञानिहरु के भन्छन् ?
न्यूरो विज्ञानका बैज्ञानिकका अनुसार मनको क्षण भन्नाले त्यो न्यूनतम कालखण्ड हो जसमा कुनै वस्तु उत्पन्न, स्थिर र नष्ट हुन्छ । बौद्ध ग्रन्थ अभिधर्मकोश भन्छः १ सेकेन्ड= ६४ क्षण हुन्छन । आधुनिक न्यूरोसाइन्सले भन्छः मस्तिष्कको गतिविधि २०–५० मिलिसेकेन्ड (०.०२–०.०५ सेकेन्ड) को अन्तरालमा घट्छ (नेचर न्यूरोसाइन्स, २०१२) । प्रत्येक क्षणमा १७ मनसंस्कारहरू उत्पन्न र नष्ट हुन्छन् । ती प्रत्येक क्षणमा यी ३ अवस्थाहरु उत्पत्ति, स्थिति र भङ्ग हुन्छन् । यी तिनै अवस्थाको एकताबद्ध रुप क्षण हो ।
जस्तैः दीपकको ज्योतिको उत्पत्तिः तेल र बत्तीको संयोगले ज्योति उत्पन्न हुन्छ । स्थितिः ज्योति केही समय अत्यन्त सूक्ष्म क्षण रहन्छ । भङ्गः तुरुन्तै निभ्छ र नयाँ ज्योति उत्पन्न हुन्छ । हामीले दियोलाई “एउटा ज्योति” भनेर देख्दछौं, तर वास्तवमा यो लाखौं क्षणहरूको निरन्तर श्रृङ्खला हो ।
त्यस्तै गरी मनमा पनि विभिन्न विचारहरु उत्पन्न र भंग हुन्छन् । विचारको उत्पत्तिः “मलाई भोक लाग्यो” । त्यो विचार केही मिलिसेकेन्ड स्थितिमा रहन्छ र भङ्गः हुन्छ । तुरुन्तै अर्को विचार आउछ मैले “खाना खान्छु” यो वचार पनि तीनवटा अवस्था पार गर्छ र फेरी क्षण भरमा अर्को विचार आई हाल्छ । वैज्ञानिकमा न्यूरोसाइन्स अनुसार, मस्तिष्कमा प्रत्येक विचार ०.५–३ सेकेन्ड मात्र अडिन्छ । त्यस पश्चात परिवर्तन भइहाल्छ (न्यूरोसाइन्स, २०१९) । यदि हामीमा लामो समय त्यस विचार आई रहन्छ भने त्यो विचार निन्तर उत्पन्न र भंग भईरहेको अवस्था हो, जसरी एउटा दियोको ज्योती निरन्तर बलिरहेको हुन्छ ।
ध्यान के हो ?
ध्यान भन्नाले एकाग्र चित्तले कुनै वस्तु, विषय वा अनुभूति माथि निरन्तर रूपले विचार गर्नु वा चेतनाको साथ निरीक्षण गर्नु हो । ध्यान एक मानसिक अभ्यास हो जसले चित्तलाई वर्तमान क्षणमा स्थिर गराउँछ र आत्मज्ञान वा शान्तिपूर्ण अवस्था तर्फ अग्रसर गराउँछ। अर्थात ध्यान भनेको चित्तलाई एकाग्र बनाउँदै आन्तरिक शुद्धि, विवेक र जागरुकता बढाउने अभ्यास हो ।
बौद्ध धर्ममा ध्यानका उद्देश्य के हो ?
बौद्ध धर्ममा ध्यानको मुल उदेश्य दुःखको कारण चिन्नु, चित्तको शुद्धि गर्नु, करुणा र मैत्रीको विकास गर्नु र निर्वाण प्राप्त गर्ने मार्गमा एकाग्र बनाउनु हो । ध्यानको अन्तिम लक्ष्य भनेको निर्वाण वा मुक्तिको प्राप्ति हो ।
यहि ध्यानका सन्दर्भमा लुम्बिनी बौद्ध विश्वबिधालयवाट हामी एप्लाइड बुद्धिज्ममा अध्ययनरत विधार्थीहरु लुम्विनीमा रहेको थाई शाही राजविहारमा श्रावण १२ देखि १८ सम्मको ध्यान शिविरमा सहभागी भएका थियौं । यस शिविरवाट ध्यानका सन्दर्भमा केहि जानकारी र अनुभवहरु प्राप्त गर्ने अवशर मिल्यो ।
बौद्ध स्मृति ध्यानको प्रभाव र अनुभूत गरेका मुलभूत विषयहरुः
मन नै सवै विषयको सर्वोपरि हो भन्ने धम्मपदको पहिलो र दोस्रो श्लोकको व्यवहारिक प्रयोग रहेछ, बौद्ध स्मृति ध्यान । मनलाइै सुद्ध र शान्त गर्ने, मनलाई विवेकको नियन्त्रणमा राख्नु नै सफलताको मूल आधार रहेछ । मनलाई कस्ट दिदा मन भट्किने र छटपटि हुने, शरिरलाई बढी आराम दिदा सचेतनता गुम्ने निदाउने र ध्यान हराउने हुदो रहेछ । शारिरिक आराम र सचेतनाको सन्तुलन तथा मध्यमार्ग नै ध्यानको मुल आधार रहेछ ।
ध्यानको प्रभाव मानव शरिरमा ज्यादै प्रभावकारी हुदो रहेछ भन्ने महत्वको उदाहरण थाईलैण्डको धम्मकाय विहारको परिकल्पनाकार गुरुमा चन्द्रा खन्नाख्योड.गको अस्तुधातुको हाडवाट रुपान्तरण भएको रंगिन ढुंगाको प्रदर्शनवाट थाहा लाग्यो जो अहिले उक्त विहारमा सुरक्षित राखिएको रहेछ । ध्यानको सिकाई र अभ्यास आत्तिएर छिट्टै हुँदो रहेनछ र यसका लागि आवश्यक बाताबरण, शारिरिक तथा मानसिक अवस्था, लामो अभ्यासको आवश्यकता र लगनशीलताले मात्र यसको प्राप्ति हुदो रहेछ ।
ध्यान पछिको निश्कर्ष र सुझावहरु
यो कोर्ष पहिलो पटक ध्यानमा जाने जो कोहीका लागि र विशेष गरी बुद्ध शिक्षाका विधार्थीहरु वा अन्य विषयका विधार्थीहरुका लागि अति आवश्यक र अति नै महत्वपूर्ण र उपयोगी रहेछ । यस कोर्षलाइ लुम्बिनी बौद्ध विश्वविद्यालय वा कुनै पनि विद्यालयले विद्यार्थी भर्ना भए पछि कक्षा संचालनको शुरुको अवस्थामा नै गरिनु ज्यादै उपलव्धि मूलक हुने महशुस गरियो । ध्यान शिक्षालय मात्र होइन राजनैतिक दलका कार्यकर्ता, गृहस्थहरु र सरकारी कार्यालयका कर्मचारीहरु लगायत सवै पेशा व्यवशायका लागि समेत अनिवार्य विषय बनाउन सकेमा यसले यी क्षेत्रहरुको कामको गुणस्तर विकास र मानिसलाई नैतिकतावान, मैत्रयी र करुणामयी बनाउनमा सहयोग पुर्याउछ भन्ने हामीलाइ विश्वास लागेको छ ।
आज विश्वका अति व्यस्त र जीवन मुल्यलाई बुझेकाहरु बुद्धको यस स्मृति ध्यानलाई जीवनको महत्वपूर्ण विषयका रुपमा प्रयोग गर्दै मानिसको मानसिक उपचारको एउटा बलियो साधनका रुपमा प्रयोग र सफलताको रुपमा लिएका छन् । दुर्भाग्य नै भन्नु पर्छ आज हाम्रै देशको यसै रुपन्ेहीको लुम्बिनीमा रहेका हामी सचेत नागरिक र सरकार संचालन गरी रहेकोहरु न त यस शिक्षालाई हाम्रो विधालयहरुमा पढाइको एउटा विषय बनाउन सकेका छौ न त यो ध्यान विधिलाई उपयोग गरी हाम्रो जीवन मुल्यको सुधार गर्ने पक्षमा सोच्न नै सकेका छौँ । त्यसैले होला एक चाइनीज विद्धानले भनेका थिए नेपालीहरु सुनको भिक्षापात्रमा भिख मागी रहेकाछन् ।
निश्कर्ष:
बौद्ध स्मृति ध्यान मानव जीवनको मुल्यलाई नजिकवाट सिक्ने, अनुभव गर्ने र जीवनलाई सहि मार्गमा लाने एउटा व्यवहारिक साधन रहेछ । हामीले यसलाई हाम्रो मानव जीवनमा दैनिक रुपमा छोटो समय मात्र प्रयोग गर्दै नियमित बनाउन सक्यौ भने पनि यसले मानिसको जीवनमा रुपान्तरण गर्न सक्दछ । यसलाई जीवनको मुख्य कर्म बनाउन सकेमा यसले समाजको रुपान्तरणमा धेरै नै महत्व र पुण्यको कार्य गर्न सक्दछ । शुरुका दिनमा यस खालका अभ्यासहरु विहारमा गर्न सकेमा यसले बौद्ध शिक्षा बुझ्न चाहनेहरुका लागि थप टेवा पुग्न सक्दछ ।
बौद्ध विश्वविद्यालयहरुले ध्यान कर्मलाई अनिवार्य अभ्यासको कर्म बनाउन सकेमा यसले शिक्षाको व्यवहारिक प्रयोग र विधार्थीको शिक्षाको गुणस्तर विकास गर्दै विश्वविद्यालयको विशिष्टतामा समेत योगदान दिन सक्दछ भन्ने अनुभूति रहेको छ । यदि ध्यानको उच्चतम अवस्थामा पुग्न सकेमा यो एउटा मानिसका लागि असिम तथा अदभूत शक्तिको श्रोत हुन सक्ने रहेछ भन्ने मेरो यस ध्यान शिविरको विश्वास हो ।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययन संकायमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।)