
कल्पना पौडेल ‘जिज्ञासु’, खजुरा बाँके
नेपालको सामाजिक संरचना र सांस्कृतिक जीवनशैलीमा चाडपर्वहरू गहिरो रूपमा जरा गाडेर बसेका छन्। तीमध्ये तीज पर्वलाई हिन्दू महिलाहरूको जीवनसँग विशेष सम्बन्ध राख्ने चाडका रूपमा हेरिन्छ। यो पर्व परम्परागत रूपमा आत्मशुद्धि, धार्मिक आस्था, र पारिवारिक समर्पणसँग जोडिएको मानिन्छ। विवाहित महिलाहरूले पतिको दीर्घायुका लागि व्रत बस्ने, अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्ने, अनि माइती पक्षसँग आत्मीयता पुनःस्थापना गर्ने अवसरका रूपमा तीजलाई मनाउने गरिन्छ।
तर समयसँगै तीजको स्वरूप तीव्र रूपले परिवर्तन हुँदै गएको छ। यो परिवर्तन केवल सामाजिक मागअनुसार भएको विकास हो त? कि मौलिकताको नाममा सुरु भएको विकृति? अहिलेको तीज परम्पराको संरक्षणको भन्दा पनि प्रदर्शनमुखी भोगवाद, बजारवाद र प्रतिस्पर्धाको उत्सव बनेको देखिन्छ। विशेषतः सहरी क्षेत्रका महिलाहरूका लागि तीज अब फेसन, डिजे पार्टी र सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउने माध्यम बनेको छ। टोकियोदेखि सिड्नी, दोहाबाट टोरन्टोसम्म नेपाली महिलाहरूले तीज मनाइरहे पनि त्यसमा मौलिकता भन्दा ज्यादा ग्ल्यामर हाबी देखिन्छ।
लाखौंको गहनाको प्रदर्शन, महँगा पार्टी प्यालेसहरूमा हुने भोज, अनि सोशल मिडिया पोस्टहरूले तीजको वास्तविक सन्देशलाई छायाँमा पारिरहेका छन्। यसरी तीज एक प्रकारको सांस्कृतिक फेसन शोमा रुपान्तरण हुँदैछ, जसले गर्दा मूल मर्म गुम्न थालेको छ।
त्यस्तै, तीजमा अझै पनि केही अभ्यासहरू छन् जुन आजको सन्दर्भमा नारी सशक्तीकरणको अवधारणासँग मेल खाँदैनन्। व्रतको नाममा दिनभरि पानी नपिई नाचगान गर्नु, महँगा लुगा गहनामा सजिनु, अनि व्रतपश्चात् पतिका खुट्टा धोएको पानी पिउनु जस्ता परम्पराहरू अझै जीवित छन्। यस्ता अभ्यासहरूले महिलाको भौतिक स्वास्थ्यमाथि मात्र नभई मानसिक र सामाजिक अवस्थामा समेत नकारात्मक प्रभाव पार्छन्। विज्ञानका दृष्टिले हेर्दा उपवासले कसैको आयु बढाउँदैन, र खुट्टा धोएको पानी पिउनुले प्रेमको प्रमाण हुँदैन। यस्ता परम्पराले महिलालाई दैवीकरण गरिएको पुरुषप्रतिको समर्पणमा सीमित राख्छन्, जसले पितृसत्तात्मक सोचलाई निरन्तरता दिन्छ।
आज पनि महिलाहरूले तीजमा पतिका लागि व्रत बस्छन्, तर के पुरुषहरूले पनि आफ्नी पत्नीको दीर्घायुका लागि त्यही त्याग गर्दछन्? यसरी हेर्दा तीज परम्पराको आवरणभित्र लुकेको असमानताको एउटा जीवन्त उदाहरण पनि हो, जसले महिलालाई स्वतन्त्र व्यक्तित्वको साटो समर्पित पात्रमा सीमित गरिदिन्छ।
यद्यपि, तीजको केवल नकारात्मक पक्ष मात्रै छैन। विशेषगरी ग्रामीण महिलाहरूका लागि तीज आत्म–अभिव्यक्तिको माध्यम बनेको छ। उनीहरूले आफ्ना पीडा, दुःख, अन्याय र सामाजिक कुरितिमाथि तीज गीतहरू मार्फत आवाज उठाउने परम्परा विकास गरेका थिए। घरेलु हिंसा, बहुविवाह, पारिवारिक शोषणजस्ता विषयवस्तु गीतमा प्रकट हुन्थे। तर हाल तीज गीतहरू पनि मौलिकता गुमाउँदै व्यावसायिकता र छाडा मनोरञ्जनमा केन्द्रित हुन थालेका छन्। गीतमा सामाजिक मुद्दाको साटो भाइरल बन्ने होड देखिन्छ।
तीजको रूपान्तरण समयको माग हो भन्ने बहानामा हामीले यसका नकारात्मक रूपहरूलाई नजरअन्दाज गर्नु हुँदैन। परम्परा भनेको स्थिर हुँदैन, त्यो समय, चेतना र आवश्यकताअनुसार विकसित हुन्छ। तर त्यो विकास प्रगतिशील र समावेशी हुनुपर्छ, बाहिरी सजावटमा सीमित हुने होइन। आजको तीजले महिलाको आत्मनिर्भरता, स्वास्थ्य, समानता र अधिकारको सन्देश दिनुको साटो, अझै उनीहरूलाई परनिर्भर, दबाबयुक्त र प्रतिस्पर्धात्मक भूमिकामा राखिरहेको छ।
प्रवासमा रहेका नेपाली महिलाहरूले पनि तीज मनाउने क्रम बढ्दै गएको छ, तर त्यहाँ पनि आर्थिक र सामाजिक वर्गीय विभाजन झन स्पष्ट देखिन थालेको छ। आर्थिक रूपमा सक्षम महिलाहरूले हजारौं डलर खर्चेर महँगा गहना, भोज र सजावटका साथ तीज मनाउँछन्। तर न्यून आय भएका महिलाहरू ती रीतिहरू पूरा गर्न नसकेर आत्मग्लानिमा डुब्ने गरेका छन्। यस्तो प्रवृत्तिले तीजको समावेशी भावना खण्डित बनाइरहेको छ।
अब तीजलाई आत्म–अधिकारको पर्वको रूपमा पुनर्परिभाषित गर्नुपर्ने समय आएको छ। नारीले श्रीमानको दीर्घायुको लागि उपवास बस्नुभन्दा पहिला आफ्नो स्वास्थ्य र आत्मसम्मानका लागि ख्याल गर्नुपर्छ। नारी–पुरुष समानताको संस्कारलाई प्रोत्साहन गर्दै, धर्मको नाममा लादिएका मानसिक दासत्वका अभ्यासहरूको अन्त्य गर्नुपर्ने बेला हो।
हाम्रो तीज गीत अब केवल माइती सम्झेर रुनुपर्ने माध्यम होइन, सामाजिक अन्याय विरुद्ध आवाज उठाउने सशक्त साधन बन्नुपर्छ। पारंपरिक भाकाहरूलाई जीवित राख्दै, नयाँ गीत, कविता र नृत्यमार्फत समाज परिवर्तनको सन्देश दिन सक्ने वातावरण तयार गर्नुपर्छ।
पञ्चायत कालमा महिलाहरूले तीजलाई तानाशाही व्यवस्थाविरुद्धको चेतनाको पर्व बनाएका थिए। आज पनि जब समाज महङ्गी, भ्रष्टाचार, महिला हिंसा र विभाजनकारी सोचले ग्रस्त छ, तीजलाई सामाजिक न्यायको अभियानको रूपमा प्रयोग गर्न सकिन्छ। हाम्रो संविधानले महिलालाई थुप्रै अधिकार दिएको छ, तर तिनको व्यवहारिक कार्यान्वयन महिलाहरूको सचेत सक्रियतामै निर्भर छ। तीज जस्ता सामूहिक पर्वहरू चेतनाको लहर बोक्ने सबल माध्यम बन्न सक्छन्, यदि हामीले त्यसलाई सही दृष्टिकोणबाट उपयोग गर्न सक्यौं भने।
अन्ततः, तीज हाम्रो संस्कृति हो। संस्कृति तबसम्म जोगिन्छ जबसम्म त्यो समयसँगै अघि बढ्न सक्छ। हामी तीजलाई न अन्धपरम्पराको नाममा जोगाऔं, न आधुनिकताको नाममा बिगारौं। हामी तीजलाई बनाऔं—सजग, सचेत र सशक्त महिलाहरूको उत्सव। जहाँ नारी केवल देखिने पात्र नभई विचार, चेतना र परिवर्तनकी वाहक होस्।
तीज रमाइलो होस्, तर सोचपूर्ण होस्। यो केवल चाड नभई, सांस्कृतिक विमर्श, लैङ्गिक समानता र सामाजिक रूपान्तरणको सशक्त मंच होस्। आजको तीज भक्ति र संघर्ष दुवैको प्रतीक बन्न सक्छ, यदि हामीले यसलाई प्रगतिशील, वैज्ञानिक र मानवीय दृष्टिकोणबाट पुनः परिभाषित गर्न सक्यौं भने।
त्यसैले, तीज अब आत्मसम्मान, समानता र सामाजिक उत्तरदायित्वको उत्सव बन्नुपर्छ। नारीले केवल रमाइलो गर्न होइन, परिवर्तन ल्याउन पनि तीज मनाउनु पर्छ। हामी सबै सन्तुलित सोचका साथ, सचेत भएर तीजका साँचो उत्तराधिकारी बनौं—जो नाच्छे, गाउछे, रमाउँछे, तर विवेकसाथ।
सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरूमा हरितालिका तिज २०८२ को हार्दिक मङ्गलमय शुभकामना
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।