
काठमाडौँ ।भदौ ,१६
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नतासम्बन्धी मुद्दाका सरकारी साक्षीमध्ये एकजनाको मृत्यु भएको छ। काठमाडौँ जिल्ला अदालतले सरकारी साक्षी कुन्दन देवानको निधन भएको पुष्टि गरेको हो।
यसअघि अदालतले देवानलाई अनिवार्य उपस्थित गराउने आदेश दिएको थियो। तर, उनी बकपत्र गर्न उपस्थित हुन नसक्दै मृत्यु भएको अदालत प्रशासनले जनाएको छ।
बाँकी साक्षीमध्ये धेरै अनुपस्थित
जिल्ला अदालतको आदेशअनुसार गत भदौ १२ गतेदेखि शुरु भएको सरकारी साक्षीको बयान प्रक्रिया आइतबार सकिएको छ। १७ जनामध्ये ६ जनाले मात्रै बकपत्र दिएका छन्। बाँकीमध्ये एक विदेशमा, दुईजनाको म्याद तामेली भएको र एकजनाको म्याद श्रीमानमार्फत बुझिए पनि अदालतमा उपस्थित नभएको विवरण अदालतले सार्वजनिक गरेको छ।
उच्च तहका नेतासम्म मुद्दा
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न भएको आरोपमा २०८० जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, संविधानसभा सदस्य आङटावा शेर्पा, र पूर्वगृहमन्त्री रामबहादुर थापाका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३१ जना प्रतिवादी छन्।
त्यससँगै, पूरक जाहेरीका आधारमा अन्य व्यक्तिहरूमाथि पनि मुद्दा दायर हुँदै गएको छ। पछिल्लो समय भारतबाट पक्राउ परेका बेचन झालाई समेत सो प्रकरणमा प्रतिवादी बनाइएको छ।
मुद्दा अब अन्तिम चरणतर्फ
सरकारी साक्षीहरूको बयान प्रक्रिया सकिएपछि अब मुद्दाको पेशी आगामी बुधबार तोकिएको छ।