नवलपरासी, जेठ १७ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ।
प्रहरीका अनुसार गए राति करिब १० बजे स्थानीय ६३ वर्षीय डम्मर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो।
उपचारकै क्रममा राति १०ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा प्रयोग गरिएको खुर्पा बरामद गरेको छ भने आरोपी डम्मर गिरीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।
घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











