जेनजी आन्दोलन हिंसात्मक बनाउन ‘टीओबी’ समूह सक्रिय रहेको आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग ले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन ‘तिब्बतीयन ओरिजन ब्लड’ (टीओबी) नामक समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ । आयोगले उक्त समूहका संलग्न व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगद्वारा सार्वजनिक छानबिन प्रतिवेदनअनुसार शान्तिपूर्ण भनिएको आन्दोलनलाई ‘हाइज्याक’ गरी भीडलाई उत्तेजित बनाउन टीओबी समूह योजनाबद्ध रूपमा परिचालित भएको देखिएको छ ।
प्रतिवेदनमा बानेश्वरस्थित एभरेस्ट होटल अगाडि ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका तथा शरीरमा सोही नामको ट्याटु बनाएका १५ देखि २० जनाको बाइकर समूह देखिएको उल्लेख छ । उक्त समूहले जेनजी आन्दोलनमा सहभागी युवा तथा विद्यार्थीलाई निषेधित क्षेत्रतर्फ अघि बढ्न र सुरक्षा घेरा तोड्न उक्साएको आयोगको भनाइ छ ।
आयोगको अनुसन्धानले टीओबी समूहले युवा तथा विद्यार्थीलाई मानव ढालका रूपमा प्रयोग गरेको तथा आफूहरू पछाडि बसेर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार र आक्रमण गरेको तथ्य फेला परेको जनाएको छ । प्रतिवेदनमा आन्दोलनलाई कब्जामा लिएर सुरक्षाफौज र संसद् भवनमाथि आक्रमण गर्न योजनाबद्ध रूपमा उक्साइएको उल्लेख गरिएको छ ।
आयोगले टीओबी समूहका व्यक्तिहरूको पहिचान, उद्देश्य तथा आन्दोलन आयोजकसँगको सम्बन्ध अझै स्पष्ट नभएको भन्दै थप अनुसन्धान आवश्यक रहेको जनाएको छ ।
सिफारिस खण्डमा आयोगले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका नाममा भीडलाई उक्साउने तथा संसद् भवनको सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि हिंसात्मक गतिविधि गराउने समूह र व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation