कम्युनिष्ट संग्रहालयको आयोजनामा बुटवलमा युवा स्वरोजगार र उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सुरु

 

शंकर प्रसाद पोख्रेल ,बुटवल, जेठ

बुटवल उपमहानगरपालिका ६ चन्द्रनगरस्थित कम्युनिस्ट सङ्ग्रहालय नेपालको केन्द्रीय कार्यालयमा युवा स्वरोजगार तथा उद्यमशीलता सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। स्थानीय युवाहरूको सीप विकास, उद्यमशील सोच अभिवृद्धि तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे ले गर्नुभएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली ले युवालाई व्यवहारिक सीपसँग जोड्ने खालका तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य ले गर्नुभएको थियो भने सञ्चालन सदस्य लिल बहादुर केसी ले गर्नुभएको थियो।

तीन दिने तालिम सुरु
उक्त तालिम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तालिममा युवा स्वरोजगार, उद्यमशीलता, कृषि व्यवसाय, अर्थतन्त्र, सीप विकास तथा समसामयिक विषयहरूमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

पहिलो दिन उद्घाटन सत्रसँगै पुस्तकालय तथा सङ्ग्रहालय व्यवस्थापन विषयमा पुस्तकालय विज्ञ शिवराज अधिकारी ले प्रशिक्षण दिनुभयो। साथै, बुटवल उपमहानगरपालिकाका युवा स्वरोजगार तथा उद्यमशीलता सम्बन्धी विषयविज्ञ  ‘उद्यमशीलता र युवा स्वरोजगारको आवश्यकता र महत्व’ विषयमा प्रशिक्षण भएको   छ।

त्यसैगरी, सह–प्राध्यापक तथा प्रशिक्षक लिल बहादुर केसी ले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवाको भूमिकाबारे प्रशिक्षण दिनुहुने छ।
आगामी दुई दिनको कार्यक्रम
दोस्रो दिन सह–प्राध्यापक लिल बहादुर केसी ले भूमण्डलीकरण, उदारीकरण र निजीकरणबाट उत्पन्न बेरोजगारी तथा आर्थिक चुनौतीबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

त्यस्तै, विज्ञ लोक राज भुसाल ले उद्यमशीलताको अवधारणा, अवसर र चुनौतीबारे तथा कृषि विज्ञ तुलसी भण्डारी ले व्यावसायिक कृषि र पशुपालनमार्फत युवा स्वरोजगारका सम्भावनाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
तेस्रो दिन सीप विकास विज्ञ बुद्धि पन्थी ले साना, लघु तथा मझौला उद्योग सञ्चालन र सीप विकासबारे प्रशिक्षण दिनेछन्। सोही दिन पुस्तकालय विज्ञ शिवराज अधिकारी ले ‘सङ्ग्रहालयको अभिलेखीकरण’ विषयमा प्रशिक्षण दिनुहुनेछ।

त्यसैगरी, अध्यक्ष चेतनाथ आचार्य ले उपभोक्तावादी संस्कृति, लोकप्रियतावाद र विश्वव्यापीकरणका असरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ भने अर्थशास्त्री मनोज भट्ट ले राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्राकृतिक स्रोतसाधनको योगदान र दलाल पुँजीवादको प्रभावबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा आयोजक कम्युनिस्ट सङ्ग्रहालयका पदाधिकारीहरूको सक्रिय भूमिका रहेको छ। आयोजकले तालिमले स्थानीय युवाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्दै उद्यमशील क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation