आज पनि तराईमा अत्यधिक गर्मी, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ । अत्यधिक गर्मीका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । पश्चिमी क्षेत्रमा मौसम सुक्खा रहँदा अधिकतम तथा न्यूनतम तापक्रम उच्च बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो धनगढीमा सबैभन्दा धेरै ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो भने भैरहवा र नेपालगञ्जको तापक्रम पनि ४० डिग्रीको आसपास पुगेको थियो । लगातार तापक्रम बढ्दै जाँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ ।
महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हिजो पनि देशका केही ठाउँमा हावाहुरीसँगै वर्षा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation