बुटवलसहित तराईमा वर्षा, चर्को गर्मीबाट राहत

लगातारको चर्को गर्मीपछि शुक्रबार रातिदेखि मौसममा आएको परिवर्तनसँगै बुटवल रुपन्देहीसहित तराईका विभिन्न क्षेत्रमा परेको वर्षाले जनजीवनमा ठूलो राहत मिलेको छ। शुक्रबार बिहानैदेखि बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भएपछि अत्यधिक गर्मीका कारण प्रभावित बनेका सर्वसाधारणले राहत महसुस गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ भने केही स्थानमा हावाहुरीसमेत चलेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा १४२ मिलिमिटर वर्षा मापन गरिएको छ। रुपन्देहीको लुम्बिनी र बुटवल, धादिङ–गोरखा सिमानाको आरुघाट तथा पर्वतलगायत क्षेत्रमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
काठमाण्डौ उपत्यकामा गएराति परेको भारी वर्षाका कारण धेरैजसो सडक जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा राति तीन घण्टामै ५७ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो क्षेत्रमा वर्षा भएको छ।
पानी परेपछि बुटवल रुपन्देहीसहित लुम्बिनी, सुदूरपश्चिम तथा तराईका विभिन्न जिल्लाका नागरिकले अत्यधिक गर्मीबाट राहत पाएका छन्। किसानहरू पनि धानको ब्याड राख्ने समयमा वर्षा हुनु सकारात्मक भएको भन्दै खुसी देखिएका छन्।
महाशाखाले आज दिनभर र भोलिसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation