बुटवलमा युवा स्वरोजगार तथा उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल

बुटवल, जेठ,१७ रुपन्देही 
बुटवल उपमहानगरपालिका–६ चन्द्रनगरस्थित कम्युनिस्ट सङ्ग्रहालय नेपालको केन्द्रीय कार्यालयमा आयोजित तीन दिने युवा स्वरोजगार तथा उद्यमशीलता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

युवा विद्यार्थी र व्यवसायीहरूको सीप विकास, उद्यमशील सोचको अभिवृद्धि तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तालिमको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो। उद्घाटन समारोहमा उहाँले युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न प्रेरित गर्दै यस्ता कार्यक्रमले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभएको थियो।

तीन दिनसम्म सञ्चालन भएको तालिममा युवा स्वरोजगार, उद्यमशीलता, कृषि व्यवसाय, अर्थतन्त्र, सीप विकास, सङ्ग्रहालय व्यवस्थापन तथा समसामयिक सामाजिक–आर्थिक विषयमा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिनुभएको थियो। तालिममा सहभागी युवाहरूले उद्यम सञ्चालन, स्वरोजगारका सम्भावना, नेतृत्व विकास तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवाको भूमिकाबारे जानकारी प्राप्त गरेका थिए।

समापन समारोहमा बोल्दै वर्षा पोख्रेल, अजय रेश्मी मगर, कम्युनिष्ट  संग्रहालयका केन्द्रिय सदस्य  गणेश  गौतम, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम तथा नेकपा (मसाल) का जिल्ला प्रवक्ता लालचन्द पन्तले यस्ता तालिमले युवाहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता र उद्यमशीलताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँहरूले उत्पादनमुखी तथा स्वरोजगारमूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको अध्यक्षता कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो भने सञ्चालन  कम्युनिष्ट संग्राहलयका  केन्द्रिय सदस्य लिल बहादुर केसीले गर्नुभएको थियो।

समापन मन्तव्य राख्दै अध्यक्ष आचार्यले युवाहरूलाई ज्ञान, सीप र चेतनासँग जोड्ने यस्ता क्षमता अभिवृद्धि तालिमहरू समयको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले युवा तथा विद्यार्थीहरूमा सामाजिक, आर्थिक र राजनीतिक चेतना विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

आयोजकका अनुसार तालिमले सहभागी युवाहरूलाई स्वरोजगार र उद्यमशीलताप्रति प्रेरित गर्दै आत्मनिर्भर जीवनयापनतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation