जिवनको भोगाइ र जीवन जिउने कला

 रामबिलास जैसवाल
संसारमा मानिस जन्मन्छन् र मर्छन । मानिस जन्मिने र मर्ने प्रक्रिया सधैँ चाहिने रहन्छ। मानिस जन्मिने र मर्ने प्रक्रिया विश्वव्यापी नियम हो । अर्थात् जो मानिस जन्मन्छ उसलाई मर्नै पर्छ । यही जन्मिने र मर्ने प्रक्रियामा मानिसले विभिन्न भोगाइहरु भोगेका हुन्छन् अर्थात् विभिन्न परिस्थितिहरूको सामना गरिराख्नु परेको हुन्छ । मानिसले जीवनयापन गर्ने क्रममा विभिन्न परिस्थितिसँग लड्नुपर्छ अर्थात् सामना गर्नुपर्छ । यो नियम कुनै एउटा व्यक्तिमाथि मात्र लागु नभएर सम्पूर्ण व्यक्तिमाथि लागु हुन्छ । चाहे धनी हो या गरिब चाहे उच्च वर्ग निम्न वर्ग वा माध्यम वर्गको मानिस हो । सबैले जीवन जिउने क्रममा विभिन्न कठिनाइसँग सामना गर्नुपर्छ । तर जीवनलाई कसरी यिनी पीडा कठिनाइबाट बचाउन सकिन्छ भन्ने चाह सबैको हुन्छ । तर खासमा यो पीडा आउनुको प्रमुख कारण यस प्रकार रहेका छन् ।
मानिसको अस्तित्वको तीन कठोर सत्य छन् । एक हो जीवन, दोस्रो हो प्रेम, तेस्रो हो मृत्यु । जीवन जन्मेपछि हामी बाँच्न बाध्य छौं । तर यो जीवन हामीले कहाँबाट पायो किन पायो हामीलाई ज्ञात छैन । तर यसबाट भाग्ने बाटो पनि छैन् । त्यसैले हामी बाचना बाध्य छौं अर्थात् मानिस बाँच्न अभिशप्त छ ।
दोस्रो यथार्थ हो प्रेम । प्रेमको गहिरो प्यास जीवनसँग संयुक्त छ । जीवनको सुरक्षापछि दोस्रो खोज प्रेमको हो। प्रत्येक जीवित प्राणीले प्रेम, कोमलता, न्यानोपन र माया खोज्छ यही नै सत्य हो । यो जीवनमा अनिवार्य नै छन् तर प्रेम एक रहस्य हो । यसले जति सुख दिन्छ त्यति नै पीडा पनि दिन्छ । प्रत्येक प्रेमको अन्त्य लगभग हामी दुखान्त नै देख्छौं तर पीडाका अनेक अनुभूतिपछि पनि प्रेमबिना हामी बाँच्न सक्दैनौँ । त्यसैले भन्न सकिन्छ मनुष्य प्रेम गर्न पनि अभिसप्त छ ।

मानिसको जीवनको तेस्रो कठोर यथार्थ हो मृत्यु । संसारमा जन्मेका कुनै पनि व्यक्ति मात्र नभएर प्राणीसमेत मर्न चाहँदैनन् । मर्नबाट बच्न हामी अनेक उपाय गर्छौं । भोकबाट नमर्न जीवनभरि खाइरहन्छौ । रोगबाट नमर्न थरिथरिका औषधि खान्छौ । जाडो र गर्मीबाट नमर्न घर बनाउँछ लुगा लगाउछौ । मृत्युबाट जोगिन हामी जीवनभरि कठोर श्रम र प्रयास गर्छौ तर अनन्त: नचाहँदा नचाहँदै आफ्ना प्रियजन आफूले आर्जन गरेको धन, सम्पत्ति, घर, परिवार आफूलाई सबैभन्दा प्यारो लाग्ने आफ्नो शरीर छोडेर जानुपर्ने हुन्छ । मेरो मेरो भन्दाभन्दै जानुपर्ने छोडेर तर विडम्बना नै भनौँ हजारौं मानिस आफ्नै अगाडि मरेको देखेर अनेकोका मलामी गएर पनि हामी आफू चाहिँ कहिले मर्दैनौ जस्तो व्यवहार गरिने रहन्छ ।
जीवनको यही कठोर यथार्थ देखेर बुद्धले भनेका होलान् “जीवन दुःख हो यहाँ तृष्णाको आगोमा सारा संसार जलिरहेको छ र नष्ट भइरहेको छ । महान दार्शनिक ओशो जीवनका यी तीन यथार्थलाई स्वीकार गर्छन् र भन्छन् जीवन प्रेम र मृत्यु तीनै दुखान्त हुन्छन् । किनभने यसको हामी जिउने कला जान्दैनौँ । उनी भन्छन् प्रत्येक व्यक्तिले तीनवटा कला सिकनै पर्छ । पहिलो जीवन जिउने कला, दोस्रो प्रेमको कला र तेस्रो अहोभावसहित विश्रामपूर्ण मर्ने कला । यी तीन कलाले जीवनलाई समग्रता दिन्छन् र जीवन प्रेम र मृत्युलाई एक उत्सव आनन्द र अहोभावको अनुभूतिमा परिणित गर्छन्। एक पूर्ण र सार्थक जीवनको लागि प्रत्येक व्यक्तिले यी तीनै कला सिक्नु जान्नु र त्यसमा निपूर्णता प्राप्त गर्नु आवश्यक छ ।
हाम्रा पुर्खाले भनेका चार पुरुषार्थी धर्म अर्थ काम र मोक्षले पनि यिनै कलाको प्रतिनिधित्व गर्छन् । अर्थले जीवनलाई सुविधापूर्वक जिउने साधन जुटाउँछ। काम प्रेमको एक शक्तिशाली अभिव्यक्ति हो । धर्मले मनुष्यलाई सन्तुष्ट भई जिउन र मर्न सिकाउँछ र मोक्ष यी सबैबाट परम स्वतन्त्रताको स्थित हो । जिउने कलाका नाममा मात्र जीविकोपार्जनको उपाय सिकाउने त धेरै भेटिन्छन् तर प्रेम र मृत्युको कला सिकाउने बिरलै कोही हुन्छ । प्रेम बिना हामी सुखी र सन्तुष्ट हुनै सक्दैनौँ तर प्रेम भन्नु साथ हाम्रो मनले सम्मानतया कामको अर्थ लगाउँछ । काम हाम्रो सबैभन्दा गहिरो उत्प्रेरणा भएपनि यसको उन्मुक्त चर्चा गर्ने स्थिति हाम्रो समाजमा अहिले पनि बन्न सकेको छैन । सारा अस्तित्वलाई प्रेम गर भने शिक्षण त सबै धर्मले दिन्छन् तर हामी किन अप्रेमपुर्ण हुँदै गइरहेका छौं र प्रेमको साटो काम र हिंसा किन यसरी सर्वव्यापी हुँदै आइरहेको छ,यो खोज कसैले गर्दैन । जसरी अन्य भौतिक शरीरको भोजन हो त्यस्तै प्रेम हृदयको भोजन हो । जसरी अन्न बिना शरीर आपोषित रहन्छ त्यस्तै प्रेमबिना हृदय भोको र अतृप्त रहन्छ । मृत्युको त स्मरण मात्रैले भए जन्माउँछ । मृत्युलाई बुझ्ने र मर्ने कला सिक्ने समझ र साहस बिरलैमा हुन्छ । मृत्यु जीवनको एकमात्र सुनिश्चित गन्तव्य हो । जीवनमा मृत्यु सिवाय अन्य सबै अनिश्चित छ, तर मृत्यु निश्चित छ । यसबाट जति डराए पनि एकदिन हामीले मर्नै पर्छ । शान्त,सुन्दर, सन्तुष्ट र आनन्दपूर्वक मर्ने कला सही धर्मले मात्रै सिकाउन सक्छ । आनन्दित मर्नलाई एक पूर्ण सन्तुष्ट र प्रेमपूर्ण जीवनको पृष्ठभूमि चाहिन्छ त्यस पृष्ठभूमिमा मात्रै जीवनसँग परितृप्त भई विश्रामपुर्वक मर्न सकिन्छ ।

निष्कर्षमा भन्दा सम्यक जीवन जिउन सिकाउनुको सट्टा हाम्रो शिक्षण पद्धति खाली जीविकाको कला सिकाउन मात्र सीमित छ। त्यसैले ‘हाउ टु लिभ हेयाप्पिली’ को सट्टा ‘हाउ टु अर्न अ लिभिङ’ मात्रै सिकाउँछ । त्यसकारण शिक्षण संस्थाहरूबाट उच्च शिक्षा हासिल गरी निस्किएका व्यक्ति शारीरिक रुपले कमजोर हार्दिक रुपले अति लोभी र महत्वकान्छी भएर निस्कन्छन् । अधिक भन्दा अधिक धन संग्रह नै सफल जीवनको मापदण्ड बन्दै गइरहेको छ । जबकि धन जीवन जिउन सुविधा जुटाउने एक साधन मात्रै हो, आफैमा कुनै साध्य होइन । पैसालाई न खान सकिन्छ न लाउन सकिन्छ तर राम्रो खाने र लाउने साधनको रुपमा प्रयोग गर्न सकिन्छ । जीवन जिउने कलाको पहिलो सर्त हो जीवनप्रतिको विधायकता। समादरपूर्वक र अनुग्रहपूर्वक जिएको जीवन नै असल जीवन हो ।
हामीले यो जीवन कमाएर ल्याएको होइन यो त परमात्माले हामीलाई दिएको सबैभन्दा ठूलो उपहार हो । यो अमूल्य उपहारलाई धन्यवाद र प्रार्थनापूर्वक ग्रहण गर्दै यसका हरेकपललाई अहोभावले बाच्नु नै जिउने कला हो । यही अहोभावमा नै जीवनको सौन्दर्य बोध हुन्छ। यस्तो गाहन बोधमा नै विधायक धर्मको उदय हुन्छ । जीवनले जाडो गर्मी राम्रो नराम्रो तितो मिठो उज्यालो अध्यारो सबै विरोधाभास समेटेको हुन्छ । यस्तो विरोधाभाषी परिस्थितिबीच पनि व्यक्ति शान्त सन्तुष्ट र आनन्दित बस्न सक्छ, मात्रै मानिस भित्र मानवता दया माया प्रेम र सद्भावना का साथसाथै जीवन जिउने कला सिक्नुपर्छ र सबै शिक्षण पद्धतिको उच्चतम उद्देश्य यस्तो स्वस्थ मनुष्य बनाउने हुनुपर्छ ।

(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल अन्तर्गत बी.ए.एल.एल.बी. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation