हरिबोधिनी एकादशी : तुलसी–दामोदर विवाहसँगै विष्णु आराधनाको पर्व देशभर मनाइँदै

 

रुपन्देही , २०८२ कार्तिक १५ गते।

वैदिक सनातन परम्पराअनुसार भगवान् विष्णुको जागरण दिवसका रूपमा मानिने हरिबोधिनी एकादशी आज देशभर उल्लासपूर्वक मनाइँदैछ। यस दिन भक्तजनहरूले घरघरमा रोपिएको तुलसीलाई भगवान् दामोदर (विष्णु) सँग विवाह गराउँदै विशेष पूजा-अर्चना गर्ने परम्परा रहिआएको छ।

चार महिनाअघि हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयनमा गएका विष्णु आजको दिन पुनः जागृत हुने धार्मिक विश्वास छ। त्यसैले यो एकादशीलाई प्रबोधिनी वा बोधिनी एकादशी पनि भनिन्छ।

हरिशयनीदेखि हरिबोधिनीसम्मको अवधिलाई “चातुर्मास” भनिन्छ — जस अवधिमा विवाह, व्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने र यात्रामा नजाने चलन रहेको छ।

 तुलसी–दामोदर विवाहको परम्परा

आज घरघरमा तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमाला, दीप र तोरणले सजाइन्छ। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर वैदिक विधिअनुसार विवाह गरिन्छ।

तुलसीलाई विष्णुप्रिया मानिने भएकाले तुलसी र दामोदरको विवाहले घरमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, “आजको दिन अग्निस्थापनासहित पूजा र हवन गर्नाले समस्त पाप नाश भई पुण्य प्राप्त हुन्छ।”

 

 तुलसीको धार्मिक र वैज्ञानिक महिमा

आदिकालदेखि पूजित तुलसीलाई हिन्दू धर्ममा मात्र होइन, विज्ञानले पनि स्वास्थ्यकर औषधि रूपमा स्वीकार गरेको छ। तुलसीको पात र रसले रुघाखोकी, औलो तथा अन्य संक्रमणबाट बचाउँछ, लामखुट्टे भगाउँछ र हावामा रहेका विषालु कीटाणु नष्ट गर्दछ।

तुलसीको मठ भएको घरलाई तीर्थको रूप मानिन्छ। मान्यता छ— “तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ, र तुलसीको पूजा हुने घरमा यमदूत प्रवेश गर्दैन।”

 

 व्रत र धार्मिक फल

आजको दिन अन्न नखाई फलाहार गर्ने चलन छ। भक्तजनहरू सखरखण्ड, पिँडालु, वनतरुल आदिको सेवन गरी व्रत बस्छन्। शास्त्रीय मान्यताअनुसार, हरिबोधिनी एकादशी व्रतले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल दिन्छ।

गरुड पुराणमा उल्लेख छ — भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुन्छ।

 

 मेला र धार्मिक स्थलहरूमा भीड

आजको दिन धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्छ।
काठमाडौं उपत्यकाका चार नारायण — चाँगुनारायण (भक्तपुर), विशङ्खुनारायण (ललितपुर), शेषनारायण र इचँगुनारायण (काठमाडौं) — मा पनि भक्तजनको ठूलो भीड देखिन्छ।

त्यहाँ पुग्न नसक्नेहरूले बूढानीलकण्ठ नारायणस्थान वा नारायणहिटको चातुर्व्युह नारायण मन्दिरमा पूजा गर्दा चारै नारायणको दर्शन गरेबराबर फल प्राप्त हुने धार्मिक विश्वास छ।

 

 विष्णु जागरण र आराधना

आजको रात भक्तजनहरूले शङ्ख, घन्टा र ढोल बजाउँदै भगवान् विष्णुलाई “गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ” भन्दै जगाउने गर्छन्।
यो परम्परा जीवनमा सुषुप्त ज्ञान र चेतनालाई जागृत गर्ने प्रतीकका रूपमा व्याख्या गरिन्छ।

 

हरिबोधिनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ। भक्तिपूर्वक गरिएको स्नान, दान, जप र होमले सयौँ जन्मका पाप नाश भई मोक्ष प्राप्त हुने विश्वास धर्मग्रन्थहरूले प्रष्ट्याएका छन्।

 रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation