खिमराज चालीसे
भारत, १ मई २०२६
भारतका विभिन्न सहरहरूमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न नगर समितिहरूको पहलमा बठिंडा, चण्डिगढ र हिमाचल प्रदेशको रामपुरमा दिवस विशेष कार्यक्रम सम्पन्न भएका हुन्।
पंजाब राज्यको बठिंडामा आयोजित कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओलीले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र वर्तमान चुनौतीहरूबारे प्रकाश पार्नुभयो। उहाँले विगतमा श्रमिक वर्गले वीर सहिदहरूको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेका अधिकारहरू क्रमशः खुम्चिँदै गएको उल्लेख गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ ढंगले श्रमिक संघर्षलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा चन्द्र प्रसाद भुषाल र खिमा खड्काले पनि आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रम नारायण केसीको अध्यक्षता तथा गणेश पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो भने ज्ञात-अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो। माया ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो।
यस्तै, चण्डिगढमा आयोजित कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मजदुर आन्दोलनको ऐतिहासिक महत्व र त्यसलाई वर्गीय आन्दोलनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य खिमराज चालीसे, क्षेत्रीय सदस्य जुना भण्डारी चालीसे, तेज बहादुर रोका, बिनु नेपाली, थमन थापा, नारायण आचार्य लगायतका वक्ताहरूले श्रमिक अधिकार र संगठन सुदृढीकरणको विषयमा आ-आफ्ना विचार राख्नुभएको थियो। कार्यक्रम मान बहादुर केसीको अध्यक्षता तथा थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो। स्वागत मन्तव्य विष्णु बेल्बासेले दिनुभएको थियो।
हिमाचल प्रदेशको रामपुरमा पनि श्रमिक दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको गौरवमय इतिहासले श्रमिक वर्गलाई अझ सशक्त रूपमा संगठित हुन प्रेरणा दिने बताउनुभयो। उहाँले नेपाली श्रमजीवीहरूको अधिकार रक्षा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विभिन्न वक्ताहरूले श्रमिक हकहितका विषयमा धारणा राखेका थिए। कार्यक्रम लाल बहादुर रावतको अध्यक्षता तथा भावना सिंहको सञ्चालनमा सम्पन्न भएको थियो भने कृष्णमायाले स्वागत गर्नुभएको थियो।
तीनै स्थानका कार्यक्रमहरूमा श्रमिक अधिकारको रक्षा, संगठन सुदृढीकरण तथा बदलिँदो परिस्थितिअनुसार संघर्षलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।












