गणेश आचार्य
अहिले मंसिर महिनामा जताततै देउली पूजा अर्थात् कुलपूजाको रन्को चलिरहेको छ। कुनै समुदायमा सकिसकेका छन् भने कतै अझै बाँकी छ। नेपालको सांस्कृतिक निरन्तरता हजारौँ वर्षदेखि प्रकृतिसँगको जीवनगत सम्बन्धमा उभिएको छ। पहाड, नदी, जंगल, ढुंगाको ढिस्को, रुख–बिरुवा—यी सबै नेपाली समाजका लागि केवल भौतिक वस्तु मात्र होइनन्; जीवन, राष्ट्र, अस्तित्व र मनोवैज्ञानिक स्वरूपका शक्ति–केन्द्र बने। तिनैलाई मान्छेले पूज्न थाले।
मानव सभ्यताको आरम्भिक चरणमा जब विज्ञान, प्रशासन, स्वास्थ्य र प्राविधिक संरचना विकसित थिएनन्, मानिसले आफ्नो जीवनको अनिश्चितता, जोखिम र भयलाई बुझ्न तथा व्याख्या गर्न प्रकृतिलाई नै चेतनशक्ति सम्पन्न ‘देवता’ का रूपमा कल्पना गर्यो। यही ऐतिहासिक–मनोवैज्ञानिक प्रक्रियाको एक मौलिक अभिव्यक्ति हो—देउली पूजा। कुनै क्षेत्रमा देउरी, देउलि, देउथा वा देवाली भनेर चिनिने यो परम्परा नेपालका पुराना बस्तीहरूको सामूहिक जीवनशैली, कृषि, अर्थतन्त्र, वातावरण, चेतना र सामाजिक संगठनका प्रारम्भिक रूप बुझ्ने एक प्रमुख स्रोत बनेर उभिन्छ।
देउली पूजाको इतिहास लेखिएका ग्रन्थभन्दा बढी मौखिक स्मृतिमा बाँचेको छ। तर मौखिक इतिहास स्वयं मानवशास्त्रीय प्रमाण हुन्। गाउँका बुढापाका, कुलघर, जातीय संस्कृति र पीढीगत रूपमा उतारिएका विधि–अनुष्ठानले पुष्टि गर्छन् कि देउली केवल धार्मिक अभ्यास होइन; यो समुदाय–केन्द्रित सभ्यताको एक जटिल मनो–सांस्कृतिक संरचना हो। प्रायः देउली कुनै ठूलो ढुङ्गा, रूख, टीला वा जंगलको किनारामा हुन्छ। ढुङ्गा स्थायित्वको प्रतीक हो—बदलिँदो जीवन, मौसम र बस्तीबीच अडिग रहने शक्ति। रूख जीवन, छायाँ, सहानुभूति र उर्वरताको प्रतीक हो। यी वस्तुलाई पवित्र मान्नु आफैंमा वातावरणीय विज्ञानसँग मेल खान्छ, किनकि पवित्रताले संरक्षण जन्माउँछ। ढुङ्गा वा रूख काट्नु पाप मानिँदा बस्तीका जैविक स्रोतहरू संरक्षणमा परे, जसको दीर्घकालीन प्रभाव कृषि, पानी र जमिन व्यवस्थापनमा देखियो।
पुरानो समाजमा बाढी, महामारी, रोग, खडेरी, चट्याँग वा जनावरमाथि पर्ने विपत्तिलाई वैज्ञानिक भाषामा व्याख्या गर्ने साधन थिएन। त्यसैले यी घटनालाई ‘देवता रिसाएको’ संकेत ठानिन्थ्यो। देवता चिढिए भने शान्ति, पानी र उर्वरता कम हुन्छ भन्ने विश्वास बस्यो। यही भय र आशाले देउलीलाई सामूहिक सुरक्षा प्रणालीको रूपमा स्थापित गर्यो। देउली पूजा गर्दा गाउँभरि घर–आँगन सफा गर्ने, बाटो–घाटो सफा गर्ने, धारा–इनार शुद्ध गर्ने चलन अनिवार्यजस्तै हुन्थ्यो। आज सार्वजनिक स्वास्थ्य विज्ञानले पुष्टि गर्छ—सफाइ, पानी–स्रोतको संरक्षण, फोहोर व्यवस्थापन नै महामारी नियन्त्रणका आधार हुन्। यसरी हेर्दा देउली पूजा पूर्व–वैज्ञानिक रोग–नियन्त्रणको अत्यन्त प्रभावकारी अभ्यास थियो। तर यसलाई अलौकिक शक्तिको प्रत्यक्ष परिणाम ठान्नु भ्रम मात्र हो।
देउली पूजाको अर्को महत्त्वपूर्ण पक्ष सामाजिक मनोविज्ञान हो। सामूहिक भेला हुनु आफैंमा मानव तनाव घटाउने, विश्वास बढाउने र सामाजिक समन्वय बलियो बनाउने वैज्ञानिक प्रक्रिया हो। समुदायका सदस्य एउटै स्थानमा भेला हुँदा परस्पर निर्भरता, भावनात्मक ऐक्यबद्धता र मनोवैज्ञानिक सुरक्षा पक्का हुन्थ्यो। सामूहिक भोज, खिर बाँड्ने, दियो–धूप बाल्ने गतिविधिले मानव समूहलाई एकीकृत भावनामा बाँध्थे। एउटै संकट सबैको, र एउटै देवता सबैको रक्षक भन्ने साझा चेतनाले समाज दीर्घकालीन रूपमा स्थिर रह्यो। यही स्थिरता पुरातन समाजका राजनीतिक–आर्थिक आधार पनि बने।
देउली पूजा राजनीतिक रूपमा पनि सूक्ष्म महत्व बोेकेर उभिन्छ। नेपालका पुराना गाउँहरूमा राज्य–सत्ता सधैँ उपस्थित थिएन। न्याय, नीति, नियम र साझा व्यवहारको निर्णय देउली रहने स्थानमै हुन्थ्यो। बृद्ध, मुखिया र समुदायका ज्ञानीहरू देउलीमुनि बसेर झगडा मिलाउने, सन्धि–सम्झौता गर्ने परम्परा प्रचलित थियो। यसको उल्लेख थुप्रै गाउँका मौखिक इतिहासमा पाइन्छ। यसरी देउली केवल धार्मिक स्थल नभई प्रारम्भिक ‘गाउँ सरकार’ को केन्द्र थियो, जुन आज समुदाय–आधारित शासन (community governance) को आदिम नमूनास्वरूप मान्न सकिन्छ।
देउली पूजाको सबैभन्दा गहिरो पक्ष कृषि–सभ्यतासँगको सम्बन्ध हो। रोपाइँ अघि पूजा गर्दा ‘देवता खुसी भइ बाली फल्ने’ विश्वास मात्र नभई यसले समुदायलाई कृषि–चक्रसँग तालमेल मिलाएर काम गर्न प्रेरित गर्थ्यो। गोरु–जोताइ, पानी व्यवस्थापन, बीउ छर्ने कार्य सामूहिक योजना र तयारीमा निर्भर हुन्थे। पूजा नजिकिँदै गर्दा पानीका मुहान, सिँचाइ कुलो, बोटबिरुवा, पाखा–पखेरा सफा गर्ने चलन थियो—जसको प्रत्यक्ष वैज्ञानिक मूल्य आज पनि मान्य छ। बाली भित्र्याउँदा गरिने पूजा धन्यवाद मात्र होइन; सामूहिक ऊर्जा, श्रम आदान–प्रदान र खाद्यान्न वितरणको प्रणाली पनि थियो। यसरी देउली पूजाले कृषि–अर्थतन्त्र र सामुदायिक श्रम व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्यायो।
प्रतीकात्मक रूपमा देउली पूजामा प्रयोग हुने प्रत्येक वस्तुको मनोवैज्ञानिक वा प्राकृतिक अर्थ छ। दियो प्रकाश, ऊर्जा र आशाको प्रतिनिधित्व गर्छ—अन्धकारसँगको संघर्ष मानव सभ्यताकै आदिम चिन्तन हो। अक्षेता, चामल उर्वरता, धान्यसम्पदा र निरन्तरताको प्रतीक। रोटी वा खिर सामूहिक उत्पादन र साझेदारी संस्कृतिको संकेत। कतै गरिने बलि टोटेमिक परम्परा र सामूहिक भोजको प्रोटिन–वितरण प्रणालीसँग सम्बन्धित—जसलाई आधुनिक मानवशास्त्रले ‘सामुदायिक पोषण सुनिश्चितता’ का रूपमा पनि अध्ययन गरेको छ।
समग्रमा, देउली पूजा केवल धार्मिक विधि होइन; यो प्रकृति, मानिस, वातावरण र समाजबीचको जटिल अन्तरसम्बन्धको प्रकट रूप हो। देउलीमा विज्ञान, मनोविज्ञान, पर्यावरण र सामाजिक–राजनीतिक संरचनाको मूल स्वरूप समाहित छ, तर यो विज्ञानको भाषा होइन—परम्परागत संस्कृतिको भाषामा अभिव्यक्त भएको ज्ञान हो। परम्पराले विज्ञानलाई लुकाएको होइन; सांस्कृतिक रूपमा व्यक्त गरेको हो।
आज आधुनिक समाजमा देउली पूजालाई कसरी बुझ्ने ? राज्य संरचना, स्वास्थ्य, प्राविधि, वैज्ञानिक शिक्षा सबै विकसित भइसके पनि समुदाय, वातावरण र सांस्कृतिक पहिचानको महत्व अझै कायम छ। देउली पूजा समुदायलाई एक बनाउने, पहिचान जोगाउने, वातावरण संरक्षण गर्ने र मनोवैज्ञानिक स्वर्य प्रदान गर्ने सांस्कृतिक अभ्यासका रूपमा आज पनि महत्त्वपूर्ण छ। यसलाई अन्धविश्वास वा अतिकथनका रूपमा होइन, मौलिक सांस्कृतिक ज्ञान–प्रणालीका रूपमा व्याख्या गर्नु आवश्यक छ।
नेपालको इतिहास लेख्न केवल राज्यका नीतिहरू, युद्ध, राजा–रजौटाका वृत्तान्त मात्र पर्याप्त हुँदैनन्। समाजका जरा, बस्तीका विश्वास, कृषि–आधारित अनुष्ठान, मौलिक ज्ञान–प्रणाली र सामुदायिक संरचना पनि इतिहासकै हिस्सा हुन्। देउली पूजा त्यही इतिहासको एउटा गहिरो, मौलिक र जीवित दस्तावेज हो—जसले पुराना नेपाली समाजले कसरी प्रकृति, जोखिम, उर्वरता, रोग, व्यवहार र सामूहिक जीवन बुझ्थ्यो भन्ने कुरा सूक्ष्म र प्रभावकारी ढङ्गले देखाउँछ।











