इरानी मिसाइल आक्रमणमा युएईमा एक नेपाली नागरिकको मृत्यु

इरानको मिसाइल आक्रमणमा परी संयुक्त अरब इमिरेट्स (युएई)मा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये एक नेपाली, एक बंगलादेशी तथा एक पाकिस्तानी नागरिक रहेका छन्। मृतकहरूको विस्तृत पहिचान भने सार्वजनिक गरिएको छैन। घटनामा विभिन्न देशका नागरिक गरी ५८ जना सामान्य घाइते भएका जनाइएको छ।
युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा नेपाल परराष्ट्र मन्त्रालय ले समेत जानकारी लिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार सञ्चारमाध्यममार्फत खबर प्राप्त भएपछि सम्बन्धित नेपाली दूतावासलाई घटनाको वास्तविकता बुझ्न निर्देशन दिइएको छ।
अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको बताइएको छ। युएई रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरु भएयता इरानले युएईतर्फ १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये १५२ वटा प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरिएको तथा १३ वटा समुद्रमा खसेका छन्।
दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ। साथै दुई वटा क्रुज मिसाइलसमेत युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, आक्रमण अवधिभर इरानले कुल ५४१ वटा ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ। तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको जनाइएको छ। २१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गर्दा विभिन्न देशका नागरिक घाइते भएका छन्।
घाइते हुनेहरूमा इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान तथा अफगानिस्तानका नागरिक रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation