मकवानपुर । राष्ट्रिय जनमोर्चा मकवानपुरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत चुनावी घरदैलो अभियानलाई तीव्र बनाएको छ। निर्धारित कार्यक्रमअनुसार मिति २०८२ फागुन १७ गते थाहा नगरपालिकाका विभिन्न क्षेत्रहरूमा व्यापक घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो।
घरदैलो अभियान अन्तर्गत चित्लाङ, टौखेल, बज्रबराही, सरस्वती बजार, कुन्छाल, ओखरबजार, थानाबजार, दोबाटो, शिखरकोट, गोपालीगाउँ, पालुङ बजार, फाँटबजार तथा फेदिगाउँ लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिएको थियो। अभियान टोलीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र वितरण गर्नुका साथै पार्टीका नीति, कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराएको जनाएको छ।
अभियानका क्रममा स्थानीय मतदाताहरूले राष्ट्रिय जनमोर्चाप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै शुभेच्छा तथा समर्थन प्रकट गरेको सहभागीहरूले बताएका छन्। जनतासँग प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या, विकासका आवश्यकता तथा जनचासोका विषयहरू समेत संकलन गरिएको थियो। कार्यक्रम अन्ततः डाँडागाउँ पुगेर स्थगित गरिएको आयोजकले जानकारी दिएको छ।
घरदैलो अभियानमा अखिल नेपाल ट्रेड युनियन केन्द्र (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की, राष्ट्रिय जनमोर्चा मकवानपुरका जिल्ला सचिव दिनेश बिष्ट, समानुपातिक उम्मेदवार शोभा गोपाली, अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सदस्य प्रमिला कार्की तथा राजमोका शुभेच्छुक विवेक बिष्ट लगायतको सहभागिता रहेको थियो।
नेताहरूले घरदैलो अभियानमार्फत जनताको विश्वास जित्दै राष्ट्रियता, सुशासन र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान अगाडि बढाइएको बताएका छन्। आगामी दिनहरूमा पनि मकवानपुरका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
राष्ट्रिय जनमोर्चाले प्रत्यक्ष जनसम्पर्कमार्फत मतदातासँग सम्बन्ध सुदृढ गर्दै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने लक्ष्यसहित घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।











