वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भावना र हर्षोल्लासको सन्देश बोकेको फागु पर्व (होली) आज सोमबार देशभर विशेष रूपमा मनाइँदैछ। परम्पराअनुसार आजका दिन विभिन्न रङहरू खेल्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ।
केही वर्षअघिसम्म विशेषगरी उपत्यकामा पानी र रङ छ्यापाछ्याप गर्दै उत्साहपूर्वक मनाइने फागु पर्व पछिल्लो समय सभ्य र मर्यादित बन्दै गएको देखिन्छ। सडकमा काम विशेषले हिँडिरहेका व्यक्तिलाई इच्छा विपरीत रङ तथा लोला हान्ने प्रवृत्ति क्रमशः घट्दै गएको छ।
फागु पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुर दरबार क्षेत्र मा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहने गर्दछ। यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेल लगेर दहन गर्ने परम्परा रहेको छ।
चिरमा राखिएका ध्वजापताकाहरू औषधीय गुण हुने विश्वासका साथ सर्वसाधारणले लिने गर्दछन् भने चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्ने धार्मिक मान्यता रहिआएको छ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन गद्दी बैठक अगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकाले सजाएर चिर गाडेपछि औपचारिक रूपमा फागु पर्व सुरु हुने परम्परा रहँदै आएको छ।
फागु पर्वले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश फैलाउने विश्वास गरिएको छ।











