शंकर प्रसाद पोख्रेल
रुपन्देही :रक्तिम सांस्कृतिक आन्दोलनसँग लामो समयदेखि जोडिँदै आएको रक्तिम परिवारका पुराना तथा नयाँ कलाकारहरूको पुनर्मिलन कार्यक्रम रुपन्देहीमा भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक एकता, देशभक्ति र राष्ट्रिय अस्तित्वको संरक्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले सहभागी कलाकारहरूलाई भावनात्मक रूपमा एकआपसमा जोड्ने काम गरेको आयोजकहरूले बताएका छन।
कार्यक्रममा रक्तिम परिवारका पूर्व अध्यक्ष नारायण योगी, तथा पुर्ब कलाकाहरु नारायण शर्मा,( सौगात सायर ) दल बहादुर बिक ,सचित्र केसी, डम्बर भण्डारी लगायतका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै, रक्तिमसँग लामो समयदेखि सक्रिय कलाकारहरू नरमाया राना, जीवन पुन,दल बहादुर विक, सुमन सुवेदी , छितिजा, राहादी ,कमला केसी, केसरी तरामुब,मिना पुन,सुमन , तेजेन्द्र थापा ,पम्फा बन्जाडे ,धनमाया मोहन सुवेदी ,लगायत अन्य कलाकारहरूको पनि सहभागिता रहेको थियो। पुराना र नयाँ पुस्ताका कलाकारहरू एउटै मञ्चमा भेला हुनु कार्यक्रमको विशेष आकर्षणका रूपमा लिइएको छ।
कार्यक्रमको अध्यक्षता मिना बुढाथोकीले गर्नुभएको थियो भने रक्तिम कलाकार दिलिप रसालीले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विशाल दर्लामीले गर्नुभएको थियो। कार्यक्रम सुरु हुनु अघि राष्ट्रिय भावना झल्काउने गीत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शक र कलाकारहरूलाई भावुक बनाएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले रक्तिम परिवारले विगतदेखि नै जनचेतना, सामाजिक रूपान्तरण र राष्ट्रिय स्वाभिमानका पक्षमा सांस्कृतिक अभियान सञ्चालन गर्दै आएको उल्लेख गरे। उनीहरूले वर्तमान अवस्थामा देशको अस्तित्व र राष्ट्रियताको संरक्षणमाथि विभिन्न किसिमका चुनौती र खतरा देखा परिरहेको भन्दै सबै देशभक्त नागरिक, कलाकार र सचेत वर्ग एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
रक्तिमका अग्रज कलाकारहरूले कला र संस्कृतिले समाजलाई जागरुक बनाउने शक्तिशाली माध्यमको रूपमा काम गर्ने भएकाले देश र जनताको पक्षमा कलालाई अझ जिम्मेवार रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। उनीहरूले विगतमा रक्तिम परिवारले जनपक्षीय गीत, नाटक र सांस्कृतिक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यही बाटोलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
कार्यक्रममा अतिथि तथा रक्तिम परिवारका पूर्व अध्यक्ष नारायण योगीले वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमा देश र जनवादी आन्दोलनका पक्षधर सबै शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले कला, संस्कृति र जनचेतनाको माध्यमबाट राष्ट्रको स्वाधीनता, जनअधिकार र लोकतान्त्रिक मूल्यको संरक्षण गर्न कलाकारहरूको भूमिका अझ जिम्मेवार हुनुपर्ने बताउनुभयो।
रक्तिम कलाकार (सौगात सायर) दल बहादुर बिकले जनवादी आन्दोलनमा लाग्न र त्यसका मूल्य–मान्यताहरू सिकाउने व्यक्तिहरूलाई सराप्नु हुँदैन भन्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले जनवादी आन्दोलन अन्याय, शोषण र दमनविरुद्ध उठेको जनताको साझा संघर्ष भएको बताउनुभयो। यस्तो आन्दोलनमा सहभागी भएर समाज परिवर्तनका लागि योगदान दिनेहरू सम्मानका पात्र भएको उहाँको भनाइ छ। बिकले चेतनाको विकास, संगठन र निरन्तर संघर्षबाट मात्रै जनताको अधिकार स्थापित हुने उल्लेख गर्दै आन्दोलनलाई कमजोर बनाउने भाष्य र व्यवहार त्याग्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष मिना बुढाथोकीले रक्तिम परिवार केवल एउटा सांस्कृतिक समूह मात्र नभई विचार, संघर्ष र देशभक्तिको प्रतीक भएको बताउनुभयो। उहाँले पुराना कलाकारहरूको योगदान र नयाँ कलाकारहरूको उत्साहलाई एउटै सूत्रमा बाँधेर अघि बढ्न सके रक्तिम परिवार अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।
स्वागत मन्तव्यका क्रममा दिलिप रसालीले देशको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाप्रति कलाकारहरू सधैं सचेत रहनुपर्ने उल्लेख गर्दै रक्तिम परिवारले जनताको आवाज बोल्ने जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कलाकार, शुभेच्छुक र आयोजक टिमप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी कलाकारहरूले आपसी अनुभव साटासाट गर्दै विगतका संघर्ष, सफल कार्यक्रमहरू र भविष्यका योजना बारे चर्चा गरेका थिए। पुनर्मिलन कार्यक्रमले पुराना सम्बन्धहरूलाई पुनः ताजा बनाउनुका साथै नयाँ पुस्ताका कलाकारहरूलाई प्रेरणा दिने काम गरेको सहभागीहरूको भनाइ थियो।
अन्त्यमा, रक्तिम कलाकारहरूले देशको अस्तित्व रक्षामाथि खतरा पैदा भइरहेको वर्तमान अवस्थामा सबै देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिँदै कला, साहित्य र संस्कृतिको माध्यमबाट राष्ट्रिय चेतना फैलाउने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।














