नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको २२औँ वार्षिक साधारणसभा मच्छीमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेगम सिंह रसाइलीले व्यानर वाचन गर्दै गर्नुभएको थियो। उहाँले जिल्लाका नौवटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा रेडक्रसका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी बाँदिकोट उपशाखाका कोषाध्यक्ष तिर्थराज पोख्रेलले दुई उपशाखाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। अर्का विशेष अतिथि झिमरुक गाउँपालिका वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष बोधिराम पोख्रेलले झिमरुक गाउँपालिका विपद्जन्य उच्च जोखिममा रहेको बताउँदै विपद् पूर्वतयारीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रका निवर्तमान अध्यक्ष धरम बहादुर जी.सी., नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाका निवर्तमान सभापति ऋषिराम शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभाको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाका सभापति नारायण बहादुर जी.सी.ले गर्नुभएको थियो। कार्यक्रममा उपसभापति चन्द्रामाया खड्काले स्वागत मन्तव्य, सचिव रामचन्द्र भण्डारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जानका पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रम सञ्चालन गर्नुभएको थियो।











