काठमाडौं — भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ। अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले आगामी साता म्यानह्याटनस्थित संघीय अदालतमा लागूऔषध तथा हतियार कारोबारसँग सम्बन्धित ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रको अभियोग सामना गर्नेछन्।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको शासन व्यवस्था अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने घोषणा गरेका छन्। ट्रम्पले भेनेजुएलामा स्थिर र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म अमेरिकाले प्रशासनिक जिम्मेवारी लिने बताएका छन्।
उनका अनुसार भेनेजुएलाको विशाल तेल भण्डार अमेरिकी नियन्त्रणमा राखी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिनेछ। साथै तेल उद्योगको पुनःसंरचनाका लागि अमेरिकी कम्पनीहरू परिचालन गरिने र सुरक्षाको जिम्मा अमेरिकी सेनाले लिने पनि ट्रम्पले बताएका छन्।
यसैबीच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै मादुरोलाई तत्काल रिहा गर्न अमेरिकासँग माग गरेकी छन्। उनले मादुरोलाई भेनेजुएलाका एकमात्र वैध राष्ट्रपति भन्दै अमेरिकी हस्तक्षेपको कडा विरोध गरेकी छन्।
यता, विपक्षी नेतृ मारिया कोरिना माचाडोले भने विपक्षी पक्षबाट निर्वाचित नेतृत्वले सत्ता सम्हाल्नुपर्ने धारणा सार्वजनिक गरेकी छन्।
अमेरिकी कांग्रेसको औपचारिक स्वीकृतिबिना गरिएको यस सैन्य हस्तक्षेपको कानुनी आधार अझै स्पष्ट नभए पनि ट्रम्प प्रशासनले यस कदमलाई अमेरिकातर्फ हुने लागुऔषध तस्करी र संगठित अपराध नियन्त्रण गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ।
घटनाप्रति अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिक्रिया देखिएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाको राजधानी हवाना लक्षित कडा चेतावनी दिएका छन्। सुरक्षा जोखिम बढेको भन्दै पुएर्टो रिको, भर्जिन टापु, अरुबा तथा भेनेजुएलानजिकका केही गन्तव्यतर्फका उडानहरू रद्द गरिएको जनाइएको छ।
मादुरो पक्राउ परेपछि अमेरिकाको दक्षिण फ्लोरिडा क्षेत्रमा उत्सव मनाइएको छ भने भेनेजुएलाको राजधानी काराकासमा तनाव, डर र अनिश्चितताको वातावरण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।











