भेनेजुएलामाथी अमेरिकी हस्तक्षेप बन्द गर्न अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुकको) माग

काठमाडौँ, पुस २१, २०८२ (जनवरी ४, २०२६)
अखिल नेपाल ट्रेडयुनियन महासंघ (ANTUC) ले संयुक्त राज्य अमेरिकाले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि गरेको कथित सैन्य आक्रमण र हस्तक्षेपको कडा शब्दमा भर्त्सना गरेको छ।
महासंघद्वारा जारी प्रेस वक्तव्यअनुसार २ जनवरी २०२६ को राति भेनेजुएलाको राजधानी काराकाससहित मिरान्डा, अरागुआ र ला गुएरा राज्यका नागरिक तथा सैन्य संरचनालाई लक्षित गरी गरिएको आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घन हो। यस्तो आक्रमणले एक सार्वभौम राष्ट्रको स्वतन्त्रता, अखण्डता र सम्मानमाथि गम्भीर प्रहार गरेको महासंघको ठहर छ।
वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादद्वारा गरिएको यो नाङ्गो हस्तक्षेपलाई संसारभरका न्यायप्रेमी श्रमजीवी जनता मौन बसेर हेर्न सक्दैनन्। यो कार्य अन्तर्राष्ट्रिय शान्ति, विशेषगरी ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको स्थिरताका लागि गम्भीर खतरा हो।”
महासंघले उक्त आक्रमणको मुख्य उद्देश्य भेनेजुएलाका रणनीतिक स्रोतहरू—विशेषतः तेल र खनिज—माथि कब्जा जमाउने र वैध सरकारलाई कमजोर बनाउने रहेको आरोप लगाएको छ। दुई सय वर्षभन्दा बढी समयदेखि स्वतन्त्र राष्ट्रको रूपमा संघर्ष गर्दै आएको भेनेजुएलाका जनता र सरकारले आफ्नो सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको रक्षा गर्न दृढतापूर्वक प्रतिरोध गर्ने महासंघको विश्वास छ।
वक्तव्यमा राष्ट्रपति निकोलस मादुरोले संविधानअनुसार राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न निर्देशन दिएको, देशव्यापी सुरक्षा संयन्त्र सक्रिय पारिएको र संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्, CELAC तथा असंलग्न आन्दोलन (NAM) मार्फत कूटनीतिक पहल गरिने विषय उल्लेख गरिएको छ।
विश्व ट्रेड युनियन महासंघ (WFTU) मा आबद्ध अखिल नेपाल ट्रेडयुनियन महासंघले अमेरिकी साम्राज्यवादद्वारा गरिएका हिंसात्मक र नरसंहारपूर्ण कार्यप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सैन्य आक्रमण तत्काल बन्द गर्न जोडदार माग गरेको छ। साथै, भेनेजुएलाका राष्ट्रप्रेमी जनता र सरकारप्रति ऐक्यबद्धता प्रकट गर्दै साम्राज्यवादी हस्तक्षेपविरुद्ध हुने अन्तर्राष्ट्रिय आन्दोलनमा नैतिक र भौतिक रूपमा साथ दिने प्रतिबद्धता जनाएको छ।
महासंघले अन्त्यमा युद्ध र विनाश होइन, शान्ति र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गर्दै स्वतन्त्र सार्वभौम राष्ट्रहरूको आत्मनिर्णय र बाँच्न पाउने अधिकारको सम्मान गर्न अमेरिकासमक्ष विशेष अपिल गरेको छ।
“साम्राज्यवादी आक्रमण बन्द गर,
मानवजातिको स्वतन्त्रता र शान्ति सुनिश्चित गर”
भन्दै महासंघले विश्वका न्यायप्रेमी श्रमजीवी जनताको साम्राज्यवादविरोधी एकतामा जोड दिएको छ।
लोकराज भुसाल
अध्यक्ष
अखिल नेपाल ट्रेडयुनियन महासंघ (ANTUC) केन्द्रीय समिति, नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation