बुटवल, पुस २१
बुटवलमा सवारी साधनको नियमित चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट ज्यान गएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित धागो कारखाना अगाडि सोमबार दिउँसो ड्युटीमा रहेका प्रहरी सहायक हवलदार नागेश्वर पाललाई तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो। पूर्वतर्फबाट बुटवलतर्फ आइरहेको बागमती प्रदेश १–००३ च ००७७ नम्बरको कारले चेकजाँच गरिरहेका बेला उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार गम्भीर घाइते भएका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा दिउँसो ४ बजेर ३८ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ। कार चालक गुल्मीको रेसुङ्गा नगरपालिका–१ निवासी ५६ वर्षीय जितेन्द्र थापालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।











