बुटवलमा खोरेत रोगमुक्त जिल्ला अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल
बुटवल ,पुस २२
लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले कृषक तथा सेवाग्राहीको काम छिटो, छरितो र प्रभावकारी ढंगले सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। खोरेत रोगमुक्त जिल्ला अभियान अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री पन्थिले पशुपन्छी क्षेत्रमा देखिने खोरेत रोगलगायत विभिन्न रोग न्यूनीकरण गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो।
मन्त्री पन्थिले पशु स्वास्थ्य क्षेत्रलाई आधुनिक, व्यवस्थित र वैज्ञानिक बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारमा सरकार अग्रसर रहने बताउनुभयो। उहाँले पशुलाई लगाइने खोपको सुरक्षित भण्डारण, समयमै खोप आपूर्ति, खोप लगाउने तरिकामा देखिएका समस्याहरू समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। “खोप प्रभावकारी हुन भण्डारणदेखि प्रयोगसम्म सबै प्रक्रिया वैज्ञानिक हुनुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्नेछ।”
त्यसैगरी मन्त्री पन्थिले पशु बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, पशु स्वास्थ्य सेवामा दक्ष जनशक्ति वृद्धि गर्ने र कृषकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू प्राथमिकतामा राखिने जानकारी दिनुभयो। पशुपालन क्षेत्र प्रदेशको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले रोग नियन्त्रण र उत्पादन वृद्धि सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो।


लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवलको आयोजनामा आज सम्पन्न खोरेत रोगमुक्त जिल्ला अभियान अभिमुखीकरण कार्यक्रममा मन्त्री पन्थिले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रदेशभरका पशु सेवा कार्यालय, भेटेरिनरी अस्पताल, विज्ञ चिकित्सक, प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रममा विभिन्न पशु सम्बन्धी विज्ञहरूले खोरेत रोग के हो, यसको असर, नियन्त्रण तथा उन्मूलनका उपायबारे विस्तृत जानकारी गराउनुभएको थियो। वरिष्ठ पशु चिकित्सक डा. कृष्णराज पाण्डेले खोरेत रोगको प्रकृति, संक्रमण फैलिने तरिका र रोग उन्मूलनका लागि अपनाउनुपर्ने रणनीतिबारे प्रस्तुति दिनुभयो। उहाँले विशेषगरी खोरेत रोग उन्मूलनका लागि जोन प्रणाली (Zone-based approach) को महत्वबारे स्पष्ट पार्दै वैज्ञानिक ढंगले क्षेत्रगत व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी डा. भरत काफ्लेले खोरेत रोगविरुद्ध प्रयोग हुने भ्याक्सिनका प्रकार, खोप लगाउने सही समय, मात्रा र सावधानीका विषयमा जानकारी गराउनुभयो। उहाँले खोप कार्यक्रमलाई नियमित, समन्वित र तथ्यमा आधारित बनाइएमा रोग नियन्त्रण सम्भव हुने बताउनुभयो।
कार्यक्रममा खोरेत रोग तथा सिमाविहीन रोग अन्वेषण प्रयोगशाला, बुढानिलकण्ठ काठमाडौंका डा. नवीन बस्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले खोरेत रोगको वर्तमान अवस्था, प्रयोगशालाको भूमिका, रोग पहिचान, निगरानी र रिपोर्टिङ प्रणालीबारे विस्तृत चर्चा गर्नुभयो। सीमावर्ती क्षेत्रबाट हुने रोगको जोखिम न्यूनीकरणका लागि अन्तर–प्रदेश तथा अन्तर–देशीय समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
नवलपरासीका प्रमुख तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख दिपक भुसालले जिल्लागत अनुभव साझा गर्दै खोरेत रोग नियन्त्रणमा स्थानीय तह, प्राविधिक र कृषकबीचको सहकार्य अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले नियमित अनुगमन, सूचना प्रवाह र सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सकारात्मक प्रभाव पारेको अनुभव सुनाउनुभयो।


कार्यक्रमको अध्यक्षता निमित्त महानिर्देशक श्रवण कुमार चौधरीले गर्नुभएको थियो। उहाँले प्रदेश सरकारले अघि सारेको खोरेत रोगमुक्त जिल्ला अभियानलाई सफल बनाउन सबै पक्षको जिम्मेवारी र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य, महत्व र अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभयो भने कार्यक्रमको सञ्चालन पशु विकास अधिकृत ऐश्वर्य आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विभिन्न विज्ञ तथा सरोकारवालाहरूले खोरेत रोग नियन्त्रण र उन्मूलनका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो। डा. भक्त न्यौपाने, हुमकान्त पाण्डे, डा. शंकर न्यौपाने र डा. प्रवेज आलमले रोग नियन्त्रणका व्यावहारिक उपाय, खोप अभियानको प्रभावकारिता, कृषक सचेतना र प्राविधिक क्षमतावृद्धिको आवश्यकताबारे सुझाव दिनुभएको थियो।
त्यसैगरी कार्यक्रममा टिकाराम पोखरेल, डा. उत्तम आचार्यलगायत अन्य सहभागीहरूले पनि पशुपालन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन नीति, बजेट र कार्यान्वयनबीचको तालमेल बलियो बनाउनुपर्ने धारणा राख्नुभयो। उनीहरूले खोरेत रोगमुक्त जिल्ला अभियानलाई कागजमा सीमित नराखी व्यवहारमा उतार्न सबै तहको सक्रिय भूमिका आवश्यक रहेको बताए।
समग्रमा, कार्यक्रमले खोरेत रोगमुक्त जिल्ला अभियानलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रदेश सरकार, प्राविधिक निकाय र कृषकबीचको सहकार्यलाई सुदृढ गर्दै रोग नियन्त्रण, पशु स्वास्थ्य सुधार र कृषकको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको संचालन पशु बिकास अधिकृत ऐसर्य आचार्यले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation