काठमाडौँ । लुम्बिनी र गण्डकी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चार जना उम्मेदवार अघि सारेको छ।
लुम्बिनी प्रदेशबाट खुला तर्फ बोमबहादुर खत्री र महिला तर्फ पद्मा पण्डित उम्मेदवार बन्नुभएको छ भने गण्डकी प्रदेशबाट शङ्कर बराल र लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाइएको छ। उक्त जानकारी घोराहीबाट खत्रीले र पोखराबाट राजमो नेता कृष्ण अधिकारीले युगदर्शनलाई दिनुभएको हो।
लुम्बिनी प्रदेशका उम्मेदवार खत्री हाल राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ। शिक्षक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका उहाँ पूर्व जिल्ला विकास समिति सभापति तथा राजमोका पूर्व केन्द्रीय कोषाध्यक्षसमेत रहनुभएको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा उहाँ झिनो मतले पराजित हुनुभएको थियो।
महिला तर्फकी उम्मेदवार पद्मा पण्डित राजमो केन्द्रीय सल्लाहकार तथा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। उहाँ प्युठानमा आधारित रहेर सक्रिय राजनीति गर्दै आउनुभएको छ।
गण्डकी प्रदेशबाट उम्मेदवार शङ्कर बराल हाल राजमो केन्द्रीय सदस्य तथा प्रदेश समितिका अध्यक्ष हुनुहुन्छ। उहाँ यसअघि अखिल (छैठौँ) का महासचिव र राजमोको केन्द्रीय उपाध्यक्ष रहिसक्नुभएको छ।
त्यसैगरी महिला तर्फकी उम्मेदवार लक्ष्मी बास्कोटा कानुन व्यवसायी तथा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव हुनुहुन्छ। उहाँ २०७४ सालको निर्वाचनमा बागलुङ वडा नं. ३ की वडाध्यक्ष निर्वाचित हुनुभएको थियो।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ।











