आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती अर्थात् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
वि.सं. १७७९ मा जन्मिएका शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गर्दै छरिएर रहेका बाइसे–चौबिसे राज्यहरूलाई एकीकृत गरेका थिए। उहाँको योगदानको स्मरणस्वरूप हरेक वर्षझैँ यस वर्ष पनि सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिँदैछ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने बताइएको छ। शाहको जन्मस्थान गोरखा मा पनि विशेष कार्यक्रमसहित यो दिवस मनाइँदै आएको छ।
यसैगरी, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ। तत्कालीन गोरखाका राजा शाहले सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बाबजुद जनताको सक्रिय सहयोगमा एकीकरण अभियान सफल बनाएका थिए। उहाँको वि.सं. १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई मजबुत बनाउने सन्देश दिने गर्दछ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश यस दिवसको मूल मर्म हो। साथै, युवापुस्तामा देशप्रतिको सेवा, समर्पण र जिम्मेवारीको भावना विकास गर्न पनि यस दिवसको विशेष महत्व रहेको छ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र र सार्वभौम राष्ट्रमध्ये एकका रूपमा स्थापित हुन सफल भएको मानिन्छ। उहाँले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्। भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ को संज्ञा दिनु उहाँको दूरदर्शिताको उदाहरण मानिन्छ।
यस अवसरमा उपराष्ट्रपति, सभामुख, राजनीतिक दलका नेता तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation