शिवनगर सामुदायिक वन उपभोक्ता समूहको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा शिवनगर सामुदायिक वन उपभोक्ता समूहको ३०औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।
साधारणसभामा बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेले सामुदायिक वनले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको आर्थिक–सामाजिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सामुदायिक वन उपभोक्ता समूहलाई पारदर्शी, समावेशी र दिगो व्यवस्थापनतर्फ अग्रसर हुन आग्रह गर्दै स्थानीय सरकार सधैँ सहकार्यका लागि तयार रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन समूहकी सचिव श्यामकुमारी आचार्यले गर्नुभएको थियो भने सह–सचिव शिवबहादुर अधिकारीले सहभागी अतिथि तथा उपभोक्ताहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साधारणसभामा कोषाध्यक्ष रविन केसीले समूहको वार्षिक आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसमा समूहले गरेको आम्दानी, खर्च तथा आगामी योजनाबारे जानकारी गराइएको थियो।
साधारणसभामा सहभागी उपभोक्ताहरूले वन संरक्षण, वन पैदावारको उचित व्यवस्थापन, रोजगारी सिर्जना तथा समुदायमा आधारित विकासका विषयमा आ–आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। साथै आगामी कार्ययोजना, नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक निर्णयहरू समेत गरिएको थियो।
झण्डै ४ हजार उपभोक्ता आवद्ध रहेको शिवनगर सामुदायिक वनले हालसम्म वन संरक्षणसँगै सामाजिक विकास, विपन्न वर्ग सहयोग, वातावरणीय सचेतना र सामुदायिक हितका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साधारणसभाले सामुदायिक वनको दिगो विकास र उपभोक्ताको हित सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण निर्णयहरू लिएको आयोजकले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation