काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार राति सम्पन्न दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा पार्टी नेतृत्व, कार्यशैली र वर्तमान राजनीतिप्रति तीखो र स्पष्ट सन्देश दिएका छन्। मन्तव्यका क्रममा उनले पार्टीभित्र चल्दै आएको पुरानो संरचना, नेतृत्व हस्तान्तरणको आवश्यकता र जनआक्रोशको यथार्थलाई निर्भीकतापूर्वक उठाएका हुन्।
थापाले पार्टी सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै प्रजातन्त्रमा पुर्याएको योगदानको सम्मान गर्दै अब नेतृत्व हस्तान्तरणको समय आएको स्पष्ट पारे। “तपाईंले नै मंसिरभित्र महाधिवेशन गर्ने, कार्यवाहक दिने र नेतृत्व छाड्ने कुरा गर्नुभएको थियो,” उनले भने, “त्यस दिन कांग्रेसभित्र मात्र होइन, कांग्रेस बाहिर पनि नेतृत्वको उदाहरणका रूपमा तपाईंलाई सम्झिएको थियो।”
महामन्त्रीद्वयमाथि नेतृत्वले नकारात्मक टिप्पणी गरेको हुनसक्ने चर्चा चलिरहेका बेला थापाले घटनाक्रम स्मरण गराउँदै भदौ १८ देखि २५ गतेसम्म सबैभन्दा सक्रिय भएर पार्टी सभापतिसँग संवाद गर्ने र सार्वजनिक रूपमा जिम्मेवारी लिने काम आफूहरूकै रहेको दाबी गरे।
उनले भदौ २३ र २४ को जेन–जी आन्दोलनलाई केवल युवाको आक्रोश नभई समग्र जनताको असन्तोषको विस्फोटको रूपमा व्याख्या गरे। “राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर जनता आक्रोशित भएका हुन्,” थापाले भने, “त्यो आक्रोश सरकार, संसद र हामीजस्ता राजनीतिक दलप्रति लक्षित थियो, व्यक्तिगत रिस होइन।”
गगन थापाले पछिल्ला राजनीतिक कार्यक्रमहरूमा देखिएको अभूतपूर्व जनसहभागितालाई विशेष महाधिवेशनको औचित्यसँग जोड्दै कांग्रेसले अब चुनाव जित्ने पार्टी मात्र होइन, संकटमा देशलाई दिशा दिने राष्ट्रिय शक्ति बन्नुपर्ने बताए। “राष्ट्रिय पार्टी चुनावले बनाउँछ, तर राष्ट्रिय शक्ति जिम्मेवारीले बन्छ,” उनको भनाइ थियो।
महाधिवेशनको निर्णय प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै उनले आफू पनि एक सहभागीका रूपमा आएको उल्लेख गरे। “हाउसले जे निर्णय गर्छ, हामीले मान्नुपर्छ,” उनले भने, “यही लोकतन्त्र हो।”
थापाले विशेष महाधिवेशनले कांग्रेस ‘दास र लासहरूको पार्टी’ नभई प्रश्न गर्ने जीवित मानिसहरूको पार्टी भएको प्रमाणित गरेको बताए। “जहाँ प्रश्न मर्छ, त्यहाँ समाधान पनि मर्छ,” उनले स्पष्ट पारे।
पार्टीभित्र देखिएको अस्वस्थ प्रवृत्तिको आलोचना गर्दै उनले चुनाव एउटा शक्तिसँग लड्ने र सरकार अर्कोसँग बनाउने अभ्यासले कार्यकर्तामा निराशा पैदा गरेको बताए। यही कारणले पार्टी सदस्यहरूले परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आह्वान गरेको उनको निष्कर्ष थियो।
अन्त्यमा उनले वंशको राजनीतिलाई अस्वीकार गर्दै वैचारिक प्रतिबद्धतालाई जोड दिए। “म बिपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन,” थापाले भने, “तर मसँग बिपीको विचार र गणेशमानको साहस छ।











