बैतडीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

बैतडी जिल्लाको पाटन नगरपालिका–८ साँडीघाँटी क्षेत्रमा सोमबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका तीनै जना पुरुष भए पनि हालसम्म उनीहरूको सनाखत हुन सकेको छैन। जिपमा कति जना सवार थिए भन्ने यकिन विवरण पनि खुल्न सकेको छैन। दुर्घटनामा अन्य व्यक्ति घाइते भएका र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation