शंकर प्रसाद पोख्रेल
नयाँ दिल्ली/हिमाचल।
भारतको हिमाचल प्रदेश अन्तर्गत सोलन जिल्लाको अर्की ग्राम पञ्चायत–६ स्थित अर्की बजारमा आइतबार राति भएको भीषण आगलागीको घटनाले ठूलो मानवीय क्षति पुगेको छ। आगलागीमा परेर ८ वर्षीय बालकको मृत्यु भएको छ भने नेपाली परिवारका ६ जना अझै बेपत्ता रहेका छन्।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक प्रेस वक्तव्य जारी गरेको छ। अध्यक्ष प्रेम पौडेलद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा खाना पकाउने एलपीजी ग्यास सिलिन्डरहरू विस्फोट हुँदा आगलागी भयावह बनेको उल्लेख गरिएको छ।
वक्तव्यअनुसार आगलागीमा १५ वटा घर जलेर नष्ट भएका छन् भने केही घरहरू ढुंगा, माटो र काठका संरचनासहित पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बेपत्ता हुनेहरूमा सल्यान जिल्ला नेपाल घर भएका हरिरामका छोरा कासिराम (४२), उनकी पत्नी टिका (३०), छोरी (१३), छोरा सन्दीप (८) तथा सल्यानकै धनबहादुर (३३), उनकी छोरी र छोरा रहेका छन्।
घटनापछि स्थानीय प्रशासनसहित राष्ट्रिय आपदा प्रतिक्रिया बल (NDRF) र राज्य आपदा प्रतिक्रिया बल (SDRF) को टोलीले उद्धार तथा खोज कार्य जारी राखेको छ।
हिमाचल प्रदेशमा ठूलो संख्यामा नेपालीहरू कृषि, बगैंचा, निर्माण तथा मजदुरी पेशामा संलग्न रहेको उल्लेख गर्दै वक्तव्यमा जोखिमपूर्ण काम, न्यून सुविधा र प्राकृतिक प्रकोपका कारण नेपाली मजदुरहरू बारम्बार दुर्घटनामा पर्ने गरेको जनाइएको छ।
अध्यक्ष प्रेम पौडेलद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा पीडित परिवारलाई सरल र शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकाय, हिमाचल प्रदेश सरकार तथा भारत सरकारसँग माग गरिएको छ। साथै, यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।











