खिमराज चालिसे, भारत
भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाअन्तर्गत अर्की बजारमा भएको भीषण आगलागी घटनाको छानबिन तथा पीडितका पक्षमा पहल गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रतिनिधिमण्डल घटनास्थलमा पुगेको छ।
मूल प्रवाहका केन्द्रीय सदस्य नेत्रबहादुर गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा राज्य समिति सचिव भुवन केसी, राज्य समिति सदस्य किसन कुमार तथा मनबहादुर महर सहभागी हुनुहुन्थ्यो।
प्रतिनिधिमण्डलले घटनास्थल पुगेर आगलागीको अवस्था र कारणबारे स्थलगत अनुगमन तथा छानबिन गरेको छ। टिमका सदस्य भुवन केसीका अनुसार घटनास्थल अत्यन्तै हृदयविदारक अवस्थामा रहेको छ। भग्नावशेष हटाउन स्काभेटर प्रयोग गरिँदै गर्दा मृतकका स–साना अवशेषहरू फेला परेका छन् भने ती अवशेषको पोष्टमार्टम प्रक्रिया अघि बढाउन प्रशासनले प्रयास गरिरहेको छ।
उक्त आगलागीमा एकै परिवारका सम्पूर्ण सदस्यको ज्यान गएको छ। मृत्यु हुनेमा धनबहादुर विक, उनकी श्रीमती कविता विक, छोरी राधा विक (१६ वर्ष), रेणुका विक (११ वर्ष) र २२ महिनाका छोरा रेन्जन विक रहेका छन्। यस्तै अर्को परिवारका काशिराम विक, उनकी श्रीमती टिका विक, छोरी अनु विक (८ वर्ष) र छोरा सञ्जय विक (६ वर्ष) को पनि ज्यान गएको छ। मृतक सबै सल्यान जिल्ला शिवकुम्भ गाउँपालिका–२, टाकुरा निवासी रहेका छन्।
घटनाका क्रममा भवनबाट भागेर ज्यान जोगाउन सफल १९ जनामध्ये एक जना हाल अस्पतालमा उपचाररत छन् भने बाँकी १८ जनालाई प्रशासनले अस्थायी राहत शिविरमा राखेको जनाइएको छ।
मूल प्रवाहको प्रतिनिधिमण्डलले सोही दिन सम्बन्धित एसडीएमसँग भेट गरी आगलागीमा ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग राखेको छ। भुवन केसीका अनुसार एसडीएमले मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सकारात्मक आश्वासन दिएका छन्।











