काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सुरु भइसकेको निर्वाचन प्रक्रियामा अब कुनै पनि प्रकारको दखलअन्दाजी सम्भव नरहेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले प्रक्रिया निर्धारित दिशातर्फ अघि बढिसकेको भन्दै सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।
उनले दुई दिनसम्म चलेको विशेष महाधिवेशनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै भने, “हामी अब एउटै बिन्दुमा आइपुगेका छौँ। निर्वाचन प्रक्रिया अघि बढिसकेको छ, यसमा अब कसैले हस्तक्षेप गर्न सक्दैन।”
थापाले वर्तमान अवस्था विशिष्ट रहेको उल्लेख गर्दै छोटो अवधिका लागि चयन हुने नेतृत्वले पार्टीलाई निर्वाचनसम्म जिम्मेवारीपूर्वक अगाडि बढाउनुपर्ने बताए। उनका अनुसार निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्नुपर्नेछ र त्यसअघि पार्टी विधान समयानुकूल संशोधन गर्नु अपरिहार्य रहेको छ।
विशेष महाधिवेशनलाई उनले एक प्रकारको आन्दोलन र विद्रोहको संज्ञा दिँदै आफू पदमा नरहे पनि तल बसेर सहयोग गर्न तयार रहेको बताए। “मलाई अहिले पद चाहिँदैन। जिम्मेवारी नभए पनि हुन्छ, तर यो विद्रोहलाई सफल बनाउने काममा साथ दिन्छु,” थापाले स्पष्ट पारे।











