कांग्रेस औपचारिक रूपमा फुट्यो, महामन्त्री थापा र शर्मा सहित तीन नेता पार्टीबाट निलम्बित

नेपाली कांग्रेस औपचारिक रूपमा बिभाजनको चरणमा प्रवेश गरेको छ। केन्द्रीय समितिको निर्णयसँगै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निलम्बन गरिएपछि कांग्रेस फुटेको स्पष्ट संकेत देखिएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुशासन कारबाहीको निर्णय गर्दै महामन्त्रीद्वयलाई पार्टी गतिविधिबाट अलग गरेको हो। पार्टीभित्र सहमतिको अन्तिम प्रयास असफल भएपछि नेतृत्व तहकै नेतामाथि कडा कारबाही गरिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसलाई एकताबद्ध राख्न ‘अन्तिम विकल्प’ भन्दै आठ बुँदे प्रस्ताव संस्थापन पक्षसमक्ष पेश गरेका थिए। प्रस्तावमा सभापति शेरबहादुर देउवाले पार्टीका दैनिक काम–कारबाहीबाट अलग रहने, पार्टी सञ्चालनका लागि अन्तरिम ‘हाई कमान्ड’ बनाउने तथा गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने विषय समावेश थियो। तर संस्थापन पक्षले एक बुँदा बाहेक सबै प्रस्ताव अस्वीकार गरेपछि टकराव फुटसम्म पुगेको हो।
१५औँ महाधिवेशन वैशाखमा गर्ने सहमति भइसकेको अवस्थामा अन्तरिम संयन्त्र आवश्यक रहेको महामन्त्री पक्षको तर्क अस्वीकृत भएपछि केन्द्रीय समिति बैठक पुनः बसेर कारबाहीको निर्णय गरिएको नेताहरूले बताएका छन्।
यसैबीच, विशेष महाधिवेशनअन्तर्गत सभापति पदका लागि गगन थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल तथा सहमहामन्त्री पदमा बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। तर उम्मेदवार नै रहेका महामन्त्रीद्वयमाथि गरिएको कारबाहीले विशेष महाधिवेशनको वैधतामाथि पनि प्रश्न उठेको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित गर्ने विधान छ। तर नेतृत्व तहकै नेतामाथि गरिएको निलम्बनले कांग्रेसभित्र दुई स्पष्ट ध्रुव बनेको देखिएको छ।
महामन्त्रीद्वयमाथिको कारबाहीसँगै कांग्रेसभित्र लामो समयदेखि दबिएको आन्तरिक संघर्ष सतहमा आएको छ। यो निर्णयले कांग्रेस अब एउटै धारमा रहन सक्ने कि औपचारिक विभाजनतर्फ जाने भन्ने निर्णायक मोडमा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation