काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी नेतृत्वमा व्यापक फेरबदल गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति तथा विश्वप्रकाश शर्मा उपसभापतिमा निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उपसभापतिमा पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना चयन भएका छन्।
विशेष महाधिवेशनले समावेशी संरचनालाई प्राथमिकतामा राख्दै खुला, महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारू तथा अपाङ्गता समूहबाट ठूलो संख्यामा केन्द्रीय सदस्यहरू निर्वाचित गरेको छ। सातै प्रदेशबाट समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यहरू निर्विरोध तथा निर्वाचनमार्फत चयन भएका छन्। महिला खुला, दलित, अल्पसंख्यक र पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै कोटाबाट पनि सदस्यहरू चयन गरिएका छन्।
निर्वाचित सभापति गगन थापाले बुधबार राति पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन्। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसो हुने निर्वाचन समितिले जनाएको छ।
विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व, समावेशी संरचना र आगामी राजनीतिक यात्राका लागि सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।











