डोटी प्रतिनिधिसभा चुनावमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट मैदानमा

 

शंकर प्रसाद पोख्रेल
डोटी । आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ डोटी जिल्लाबाट राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट उम्मेदवारका रूपमा सिफारिस हुनु भएको छ। पार्टीभित्र लामो समयदेखि वैचारिक निष्ठा, संघर्षशीलता र बौद्धिक क्षमताका कारण परिचित भट्टको उम्मेदवारी सिफारिसलाई जिल्लाभर सकारात्मक रूपमा हेरिएको छ।
राष्ट्रिय जनमोर्चाले डोटी जिल्लामा जनपक्षीय राजनीति, सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको सवाललाई सधैँ प्राथमिकतामा राख्दै आएको छ। सोही राजनीतिक धाराको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा महासचिव भट्टको उम्मेदवारी सिफारिस हुनु पार्टीका लागि मात्र होइन, डोटी जिल्लाका सचेत नागरिकहरूका लागि पनि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
डोटी जिल्ला पार्टी समितिले महासचिव भट्टलाई उम्मेदवारका रूपमा सिफारिस गरिएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको उम्मेदवारीले जिल्लाको राजनीतिक चेतनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। पार्टीका अनुसार भट्ट जनताको दुःख–सुख नजिकबाट बुझ्ने, सधैँ जनताको पक्षमा आवाज उठाउने र संसद्मा जिल्लाका मुद्दा प्रभावकारी ढंगले उठाउन सक्ने क्षमता भएका नेता हुन्।
महासचिव भट्ट लामो समयदेखि राष्ट्रिय जनमोर्चाको संगठन निर्माण, वैचारिक प्रशिक्षण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषकका समस्या, भ्रष्टाचारविरुद्धको संघर्ष तथा संघीयताको विकृतिप्रति निरन्तर आवाज उठाउँदै आउनु भएको छ। त्यसैले उहाँको उम्मेदवारी डोटी जिल्लाको समग्र विकास र जनताको अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम हुने पार्टीको बुझाइ छ।
यसै सन्दर्भमा डोटी जिल्ला पार्टीले सम्पूर्ण डोटेली जनसमुदायलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह ‘गिलास’ मा मतदान गरी महासचिव मनोज भट्टलाई विजयी गराउन हार्दिक अपिल गरेको छ। पार्टीले सचेत, विवेकशील र परिवर्तन चाहने मतदाताहरूको समर्थन प्राप्त हुने विश्वास लिएको जनाएको छ।
पार्टीले आगामी निर्वाचनलाई विचार, नीति र सिद्धान्तको प्रतिस्पर्धाका रूपमा लिन आग्रह गर्दै जनताको मतले नै देशको भविष्य निर्धारण गर्ने स्पष्ट पारेको छ। डोटी जिल्लाबाट राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको उम्मेदवारीले निर्वाचनलाई थप अर्थपूर्ण र वैचारिक बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation