शंकर प्रसाद पोख्रेल
प्युठान । इमानदार, कर्मठ, निष्ठावान तथा निरन्तर देश र जनताको पक्षमा संघर्षरत जुझारु नेता तिलक जिसी प्रतिनिधिसभा निर्वाचनका लागि प्युठान जिल्लाबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार बन्नुभएको छ। लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय जिसीलाई पार्टीले जनआधार, अनुभव र वैचारिक दृढताका आधारमा उम्मेदवार बनाएको हो।
तिलक जिसी स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म स्पष्ट विचार र व्यवहारका लागि चिनिनुहुन्छ। उहाँ झिमरुक गाउँपालिकाको अध्यक्ष हुँदा गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो र नेपालकै सातौँ उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्न सफल हुनुभएको थियो। सीमित स्रोत–साधनका बाबजुद सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकतामा राखेर काम गरेकाले झिमरुक गाउँपालिका उदाहरणीय बनेको स्थानीयवासीहरू बताउँछन्।
यसअघि पनि उहाँले साविक गाउँ विकास समितिको अध्यक्षका रूपमा कार्य गर्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको थियो। जनताको प्रत्यक्ष सहभागिता, इमानदार नेतृत्व र सही योजनाका कारण विकास सम्भव हुन्छ भन्ने कुरा जिसीले व्यवहारबाट प्रमाणित गर्नुभएको थियो।
कम्युनिष्ट आन्दोलनका सैद्धान्तिक तथा दार्शनिक ज्ञानमा दख्खल राख्ने नेता जिसी स्पष्ट वक्ता र सिधा सोचका रूपमा परिचित हुनुहुन्छ। उहाँ व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई अघि बढाउने नेताका रूपमा परिचित रहनुभएको छ। भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध दृढ अडान लिँदै आउनु भएका कारण उहाँप्रति आम नागरिकको विश्वास उच्च रहेको देखिन्छ।
राष्ट्रिय जनमोर्चाले प्युठानमा इमानदार र जनउत्तरदायी प्रतिनिधि पठाउने उद्देश्यसहित तिलक जिसीलाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीका नेताहरूका अनुसार जिसीको उम्मेदवारीले जिल्लामा सकारात्मक राजनीतिक सन्देश जानेछ र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठ्ने विश्वास गरिएको छ।
स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणले पनि तिलक जिसीका विगतका कामको मूल्यांकन गर्दै उहाँ योग्य र भरोसायोग्य उम्मेदवार भएको प्रतिक्रिया दिएका छन्। “उहाँले गरेका काम राम्रा छन्, त्यसैले प्युठानी जनताले तिलक जिसीलाई मतदान गर्नुपर्छ,” स्थानीय एक अगुवाले बताए।
आगामी निर्वाचनमा विकास, सुशासन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिनुभएका तिलक जिसीलाई प्युठानका जनताले कस्तो जनमत दिन्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।











