शंकर प्रसाद पोख्रेल
बागलुङ । राष्ट्रिय जनमोर्चाले बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्ण अधिकारीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार अधिकारीलाई उम्मेदवार तोकिएको हो। लामो समयदेखि कम्युनिष्ट बामपन्थी आन्दोलनमा सक्रिय रहँदै आउनुभएका अधिकारीलाई पार्टीले इमानदार, निष्ठावान र जनमुखी नेता भएको मूल्यांकन गर्दै उम्मेदवार बनाएको जनाएको छ।
कृष्ण अधिकारी विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएको नेता हुनुहुन्छ। उहाँ लामो समयसम्म अखिल छैठौँ (अनेरास्ववियु–छैठौँ) को केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहँदै विद्यार्थी, श्रमिक तथा आम जनताको हक–अधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आउनुभएको थियो। विद्यार्थी आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठन विस्तार गर्ने तथा शैक्षिक सुधारका मुद्दा उठाउने काममा उहाँको भूमिका महत्वपूर्ण रहेको पार्टीले जनाएको छ।
राष्ट्रिय जनमोर्चाका अनुसार अधिकारीले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई दृढतापूर्वक पालना गर्दै आएका छन्। व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकतामा राख्ने, सरल जीवनशैली अपनाउने र जनताको समस्यासँग प्रत्यक्ष जोडिएर काम गर्ने नेताका रूपमा उहाँ परिचित हुनुहुन्छ। यही कारण कार्यकर्ता तथा सर्वसाधारणबीच उहाँप्रति विश्वास बढ्दै गएको जनमोर्चाको भनाइ छ।
कम्युनिष्ट बामपन्थी आन्दोलनमा निरन्तर सक्रिय अधिकारीले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र सुशासनका मुद्दालाई निरन्तर उठाउँदै आउनुभएको छ। देश र जनताको पक्षमा स्पष्ट धारणा राख्ने तथा अन्याय, शोषण र उत्पीडनविरुद्ध दृढ रूपमा उभिने उहाँको राजनीतिक यात्राले बागलुङमा सकारात्मक सन्देश जाने विश्वास पार्टीले लिएको छ।
राष्ट्रिय जनमोर्चाले बागलुङ–१ मा इमानदार, संघर्षशील र सिद्धान्तनिष्ठ प्रतिनिधि संसदमा पठाउने उद्देश्यसहित कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीले आम मतदातालाई राष्ट्रिय जनमोर्चाको नीति, कार्यक्रम र उम्मेदवार अधिकारीलाई समर्थन गरी विजयी गराउन अपिलसमेत गरेको छ।
यसअघि उक्त क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पटक–पटक प्रतिनिधिसभा निर्वाचन लड्दै आउनुभएको थियो र उहाँ यसै क्षेत्रबाट धेरै पटक संसदमा प्रतिनिधित्व गरिसक्नुभएको छ। आगामी निर्वाचनमा कृष्ण अधिकारीको उम्मेदवारीलाई जनमुखी राजनीति र वैचारिक स्पष्टताको निरन्तरताका रूपमा हेरिएको छ।











