शंकर प्रसाद पोख्रेल
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार उहाँलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको हो। पार्टीले उहाँको उम्मेदवारीलाई राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा निरन्तर संघर्षरत वैचारिक राजनीतिलाई बलियो बनाउने कदमका रूपमा लिएको छ।
लामो समयदेखि कम्युनिस्ट तथा प्रगतिशील आन्दोलनमा सक्रिय रहँदै आउनु भएका गणेश आचार्य जनताको हक–अधिकार, श्रमिक, किसान, महिला, दलित तथा उत्पीडित वर्गका मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित हुनुहुन्छ। विभिन्न आन्दोलन, संघर्ष र संगठनात्मक जिम्मेवारीमार्फत उहाँले सधैँ जनताको पक्षमा आवाज उठाउँदै आउनुभएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
राष्ट्रिय जनमोर्चाले वर्तमान संघीय संरचनाले देशलाई आर्थिक रूपमा कमजोर बनाएको, प्रशासनिक खर्च अत्यधिक बढाएको र भ्रष्टाचारलाई संस्थागत गरेको निष्कर्ष निकाल्दै संघीयता खारेजको माग गर्दै आएको छ। पार्टीका अनुसार संघीयता लागू भएपछि राज्यको खर्च अस्वाभाविक रूपमा बढेको, सेवा प्रवाह कमजोर बनेको र राजनीतिक अस्थिरता झनै गहिरिएको छ। यही कारण संघीयताको खारेजी र सुदृढ, केन्द्रित तथा जवाफदेही राज्य संरचनाको पक्षमा संसदभित्र सशक्त रूपमा आवाज उठाउन सक्ने नेताको रूपमा आचार्यलाई उम्मेदवार बनाइएको जनाइएको छ।
त्यसैगरी, पार्टीले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध कडा संघर्ष आवश्यक रहेको उल्लेख गरेको छ। ठूला राजनीतिक दल र सत्तासीन शक्तिहरू भ्रष्टाचारमा लिप्त हुँदा आम जनता महँगी, बेरोजगारी र अन्यायको चपेटामा परेको पार्टीको ठहर छ। गणेश आचार्य भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको, पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा दृढ रहने देशभक्त नेता भएको जनमोर्चाको दाबी छ।
राष्ट्रिय जनमोर्चाका अनुसार गणेश आचार्य संसदमा पुगेपछि राष्ट्रिय स्वाधीनताको रक्षा, विदेशी हस्तक्षेपको विरोध, जनताको सार्वभौम अधिकारको संरक्षण र सामाजिक न्याय स्थापना गर्ने मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने छन्। उहाँको उम्मेदवारीले सिद्धान्तनिष्ठ, इमानदार र वैचारिक राजनीतिलाई मजबुत बनाउने पार्टीको विश्वास छ।
पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो नीति, कार्यक्रम र सिद्धान्तका आधारमा मतदाताको समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। साथै दाङ निर्वाचन क्षेत्र नं. १ का सम्पूर्ण मतदाता, शुभेच्छुक र समर्थकहरूलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलास मा मतदान गरी गणेश आचार्यलाई विजयी गराउन हार्दिक अपिल गरेको छ।











