शंकर प्रसाद पोख्रेल
पाल्पा । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट विशाल दर्लामी र पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट नरमती सिंजालीलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाइएको हो।
राष्ट्रिय जनमोर्चाले यी दुवै उम्मेदवारलाई इमानदार, संघर्षशील र जनमुखी राजनीतिक व्यक्तित्वका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार पाल्पा जिल्लामा वैचारिक राजनीति, सुशासन र जनताको हक–अधिकारको पक्षमा सशक्त आवाज उठाउन सक्ने उम्मेदवारका रूपमा दर्लामी र सिंजाली चयन भएका हुन्।
पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका विशाल दर्लामी राष्ट्रिय जनमोर्चाका पाल्पा जिल्ला अध्यक्ष समेत हुनुहुन्छ। लामो समयदेखि पार्टी संगठन निर्माण, विस्तार र जनसंघर्षमा सक्रिय रहँदै आउनुभएका दर्लामीलाई संगठनात्मक रूपमा अनुभवी, अनुशासित र स्पष्ट वैचारिक धार बोकेको नेताका रूपमा चिनिन्छ। उहाँले जिल्लामा पार्टीको आधार मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको पार्टीको भनाइ छ।
दर्लामीले जनताको दैनिकीसँग जोडिएका समस्या, महँगी, बेरोजगारी, भ्रष्टाचार र जनविरोधी नीतिहरूविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएको छ। राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका सवालमा स्पष्ट धारणा राख्ने उहाँ संसदमा पुगेपछि यी मुद्दालाई सशक्त रूपमा उठाउने पार्टीको विश्वास छ।
त्यसैगरी, पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी बसन्ती नरमती सिंजाली सामाजिक न्याय, महिला अधिकार र समान हक–हितको पक्षमा निरन्तर सक्रिय रहँदै आउनुभएकी नेतृ हुनुहुन्छ। उहाँले स्थानीय तहदेखि विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमार्फत जनताको आवाज उठाउँदै आउनुभएको छ। पार्टीका अनुसार सिंजालीको उम्मेदवारीले संसदमा महिला प्रतिनिधित्वलाई मात्र होइन, उत्पीडित वर्ग र समुदायका मुद्दालाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय जनमोर्चाले वर्तमान राजनीतिक परिस्थितिमा संघीय संरचनाले देशलाई आर्थिक बोझ, भ्रष्टाचार र प्रशासनिक जटिलतामा धकेलेको निष्कर्ष निकाल्दै संघीयता खारेजको एजेन्डा अघि सारेको छ। साथै पार्टीले भ्रष्टाचारविरुद्ध कडा संघर्ष, सुशासनको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा र सामाजिक न्यायको कार्यान्वयनलाई आफ्नो प्रमुख राजनीतिक कार्यसूची बनाएको छ।
पार्टीका अनुसार विशाल दर्लामी र नरमती सिंजाली दुवै उम्मेदवार यी एजेन्डालाई संसदभित्र प्रभावकारी रूपमा उठाउन सक्षम नेतृत्व हुन्। राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा आफ्नो नीति, सिद्धान्त र कार्यक्रमका आधारमा जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
अन्त्यमा पार्टीले पाल्पा जिल्लाका सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलास मा मतदान गरी पाल्पा–१ बाट नरमती सिंजाली र पाल्पा–२ बाट विशाल दर्लामीलाई विजयी गराउन हार्दिक अपिल गरेको छ।











