शंकर प्रसाद पोख्रेल
गुल्मी । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट रामकुमार क्षेत्री (सेर बहादुर थापा) र गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट लाल बहादुर थापालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाइएको हो।
राष्ट्रिय जनमोर्चाका अनुसार गुल्मी–१ बाट उम्मेदवार बनेका रामकुमार क्षेत्री (सेर बहादुर थापा) हाल गुल्मी जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ। लामो समयदेखि संगठन निर्माण, विस्तार र जनसंघर्षमा सक्रिय रहँदै आउनुभएका क्षेत्रीलाई अनुशासित, इमानदार र जनमुखी नेताका रूपमा पार्टीले मूल्यांकन गरेको छ।
त्यसैगरी गुल्मी–२ बाट उम्मेदवार बनेका लाल बहादुर थापा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य हुनुहुन्छ। पार्टीका अनुसार थापा वैचारिक रूपमा स्पष्ट, संघर्षशील र अनुभवी नेता हुनुहुन्छ। उहाँले पार्टीका नीति, कार्यक्रम र सिद्धान्तलाई राष्ट्रिय तहमा मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
राष्ट्रिय जनमोर्चाले दुवै उम्मेदवारलाई राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र सुशासनको पक्षमा दृढतापूर्वक उभिन सक्ने नेतृत्वका रूपमा अघि सारेको जनाएको छ। पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा संघीयता खारेज, भ्रष्टाचारविरुद्ध कडा संघर्ष र जनजीवन सहज बनाउने नीतिलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ।
पार्टीका अनुसार रामकुमार क्षेत्री र लाल बहादुर थापा संसदमा पुगेपछि जनताको आवाज बुलन्द रूपमा उठाउने र वैचारिक राजनीतिलाई सशक्त बनाउने विश्वास लिइएको छ।
राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा आफ्नो चुनाव चिन्ह गिलास मा मतदान गरी गुल्मी–१ बाट रामकुमार क्षेत्री (सेर बहादुर थापा) र गुल्मी–२ बाट लाल बहादुर थापालाई विजयी गराउन गुल्मी जिल्लाका सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक अपिल गरेको छ।











