शंकर प्रसाद पोख्रेल
बाग्लुङ । बाग्लुङ जिल्लामा आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ। दुई दलबीच भएको सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमोर्चाले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई सघाउने सहमति भएको छ। आपसी सहकार्य र तालमेलमार्फत प्रगतिशील शक्ति एकताबद्ध बनाउने उद्देश्यले उक्त निर्णय गरिएको दुवै दलले जनाएका छन्।
चुनावी तालमेलले बाग्लुङमा लोकतान्त्रिक, जनमुखी र परिवर्तनकारी शक्तिलाई बल पुग्ने विश्वास व्यक्त गरिएको छ। दुवै दलले संयुक्त रूपमा निर्वाचन अभियान अगाडि बढाउँदै मतदातालाई सहयोगी उम्मेदवारलाई समर्थन गर्न अपिल गरेका छन्।











