काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट युवा नेता रोसन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट प्रदान गरेको छ।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको हो।
पार्टीका अनुसार दानी सानै उमेरदेखि राजनीतिक चेतनाले भरिपूर्ण रहँदै सामाजिक रूपान्तरण, जनमुखी सेवा र वैचारिक आन्दोलनमा सक्रिय छन्। “युवा आऊ, देश बचाऔँ” भन्ने अभियानका अगुवाका रूपमा चिनिने दानी निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य सेवा राज्यको दायित्व हुनुपर्छ भन्ने मान्यताका पक्षधर हुन्। “मै बनाउँछु मेरै लागि अस्पताल” अभियानमार्फत उनले जनस्वास्थ्यको सवाललाई राष्ट्रिय बहसको विषय बनाउँदै आएका छन्।
रोशन दानी थानकोट जेसीजका पूर्व अध्यक्ष हुन्। जेसीज नेतृत्वका क्रममा उनले युवा नेतृत्व विकास, सामाजिक सेवा र सामुदायिक अभियानलाई प्राथमिकतामा राख्दै उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। त्यसका साथै उनी विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवाका कार्यमा सक्रिय रहँदै आएका छन्।
पत्रकारितामा लामो अनुभव भएका दानी प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हुन्।
पत्रकारितामार्फत सामाजिक अन्याय, भ्रष्टाचार, विभेद र उत्पीडनविरुद्ध निरन्तर आवाज उठाउँदै आएका दानी सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारिताका पक्षधर मानिन्छन्।
युवालाई संगठित गर्दै सामाजिक अभियानमा जोड्न सक्रिय दानी युवा गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य समेत हुन्। साथै उनी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य का रूपमा विपद् व्यवस्थापन, राहत तथा मानवीय सेवाका कार्यमा योगदान दिँदै आएका छन्।
राष्ट्रिय जनमोर्चाले वर्तमान संघीय संरचनाले देशलाई आर्थिक रूपमा कमजोर बनाएको, प्रशासनिक खर्च बढाएको र भ्रष्टाचारलाई संस्थागत गरेको निष्कर्ष निकाल्दै संघीयता खारेजी, सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको मुद्दामा संसदभित्र सशक्त आवाज आवश्यक रहेको जनाएको छ। यही सन्दर्भमा वैचारिक रूपमा स्पष्ट, इमानदार र संघर्षशील युवा नेताका रूपमा रोसन दानीलाई उम्मेदवार बनाइएको पार्टीको भनाइ छ।
पार्टीका अनुसार दानी संसदमा पुगेपछि संघीयता खारेजी, भ्रष्टाचारविरुद्ध कडा संघर्ष, विदेशी हस्तक्षेपको विरोध, जनताको सार्वभौम अधिकारको संरक्षण तथा निशुल्क शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता जस्ता मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने छन्।
राष्ट्रिय जनमोर्चाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का सम्पूर्ण मतदाता, युवाहरू, शुभेच्छुक तथा समर्थकहरूलाई राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह ‘गिलास’ मा मतदान गरी रोशन दानीलाई विजयी गराउन हार्दिक अपिल गरेको छ।











