देशभर निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता चहलपहल

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने प्रक्रिया आजदेखि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा सुरु भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारी दर्ता बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको छ। सो समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई लाइनमा बसिसकेका उम्मेदवारले दर्ता गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।
आयोगका अनुसार उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गर्नुपर्नेछ। उम्मेदवारी दर्ताका क्रममा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रसहित आवश्यक १३ प्रकारका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने आयोगले यसअघि नै स्पष्ट गरिसकेको छ।
आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म दर्ता भएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको छ। माघ ६ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दिने समय तोकिएको छ।
त्यसपछि माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ। सोही दिन बेलुकी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ। त्यसै दिन अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation