सुर्खेतका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवार घोषणा

सुर्खेत । राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट मोहन थापा र निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्णबहादुर शाहीलाई उम्मेदवार बनाइएको हो।
निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका मोहन थापा लामो समयदेखि राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका कुशल संगठक हुनुहुन्छ। उहाँ सबैभन्दा लामो समयसम्म सुर्खेत जिल्लाको शान्ति समितिको नेतृत्व गर्ने व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्छ। थापाको नेतृत्वकाल विवादरहित, समन्वयात्मक र प्रभावकारी रहेको बताइन्छ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पूर्णबहादुर शाही सेवानिवृत्त शिक्षक हुनुहुन्छ। सेवाकाल पूरा गरी निवृत्त भएपछि पनि उहाँ निरन्तर राष्ट्रिय जनमोर्चाको सांगठनिक अभियानमा सक्रिय रहँदै आउनुभएको छ। सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोही पक्ष दुवैको दोहोरो मारमा परेर पटक–पटक शारीरिक तथा मानसिक यातनाका शिकार बन्नुभएका शाही जनसंघर्षबाट खारिएका नेता मानिनुहुन्छ। उहाँ यसपटक पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदै हुनुहुन्छ।
राष्ट्रिय जनमोर्चाले सुर्खेतमा चुनावी प्रतिस्पर्धाका लागि अघि सारेका दुवै उम्मेदवार इमानदार, संघर्षशील र जनमुखी नेताका रूपमा परिचित रहेका छन्। लामो समयदेखि जनताको हक–अधिकार, सामाजिक न्याय, राष्ट्रियता र लोकतान्त्रिक मूल्यका पक्षमा सक्रिय यी नेताहरूले सुर्खेत जिल्लामा पार्टीको वैचारिक आधारलाई अझ मजबुत बनाउने विश्वास पार्टीले लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation