प्रतिनिधिसभा निर्वाचन : देशभर ३ हजार ४८४ उम्मेदवार मैदानमा, युवाको सहभागिता उल्लेख्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (माघ ६ गते) देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ सिटका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उम्मेदवारमध्ये ३९५ जना महिला, ३ हजार ८८ जना पुरुष तथा एक जना अन्य लिङ्गका उम्मेदवार रहेका छन्। कुल उम्मेदवार संख्यामा महिलाको सहभागिता अझै न्यून देखिए पनि अघिल्ला निर्वाचनको तुलनामा क्रमशः बढ्दै गएको आयोगको विश्लेषण छ।
राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराउनेको संख्या २ हजार २९७ रहेको छ। तीमध्ये २३५ जना महिला र २ हजार ६४ जना पुरुष छन्। यस्तै, स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १८७ पुगेको छ, जसले यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति उल्लेखनीय रहेको देखाउँछ।
उमेर समूहका आधारमा हेर्दा २५ देखि ३५ वर्षसम्मका ५८३ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवारको संख्या सबैभन्दा बढी १ हजार ६१० रहेको छ। त्यस्तै ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० जना र ६५ वर्षभन्दा माथिका २०१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार यसपटक देशभर ६८ वटा राजनीतिक दलका उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूची भएकाले छानबिनपछि उम्मेदवार संख्यामा केही घटबढ हुन सक्ने जानकारी दिनुभयो।
मनोनयन दर्तासँगै अब उम्मेदवारको छानबिन, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ। निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation