रुपन्देही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा उत्साहजनक जनसहभागितासहित उमेदवारी दर्ता भइरहेको छ। प्रमुख राजनीतिक दलका प्रभावशाली नेता, उद्यमी पृष्ठभूमिका उम्मेदवार र स्वतन्त्र युवा उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यस क्षेत्रको राजनीतिक तापक्रम चुलिएको छ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट उमेदवारी दर्ता गरेका छन्। उम्मेदवारीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले “रुपन्देहीलाई विकासको रोलमोडल बनाउने लक्ष्यसहित चुनावमा आएको” बताए। उनले सम्पन्न आयोजनाको प्रभावकारी कार्यान्वयन र निर्माणाधीन गौरवपूर्ण आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी नेपाली कांग्रेसका नेता चुन्नप्रसाद पौडेलले पनि आज दिउँसो ३ बजे बुटवलको देविनगरस्थित निर्वाचन क्षेत्र नं. २ को कार्यालयमा उमेदवारी दर्ता गरेका छन्। उनका प्रस्तावक कांग्रेस महासमिति सदस्य चित्रबहादुर केसी र समर्थक केन्द्रीय सदस्य रामबहादुर कार्की रहेका छन्। उमेदवारी दर्तापछि पौडेलले “रुपन्देही–२ का जनताको पक्षमा मजबुत रूपमा उभिने” प्रतिबद्धता जनाउँदै आफूलाई “वास्तविक प्रतिस्पर्धी नै नभएको” दाबी गरे। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी तथा सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।
त्यस्तै, युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन्। सामाजिक सञ्जाल र विभिन्न नागरिक आन्दोलनमार्फत चर्चामा आएका भुसालले स्थापित नेताहरूलाई चुनौती दिने बताएका छन्। उनले “राजनीतिमा नयाँ सोच, इमानदारी र जवाफदेहिता आवश्यक भएको” प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले उमेदवारी दर्ता गर्दै “पुराना दलहरू भ्रष्टाचारमा लिप्त भएकाले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता परेको” बताएका छन्।
यसैगरी नेकपा (माओवादी) का जिल्ला सेक्रेटरी तथा युवा नेता बिरेन्द्र सीले पनि उमेदवारी दर्ता गराउँदै “वास्तविक जनताको प्रतिनिधि आफू भएको” दाबी गरेका छन्। उनले श्रमिक, सुकुम्बासी र उत्पीडित वर्गको पक्षमा संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए। उमेदवारी दर्ताका क्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे र उपमेयर सावित्रा अर्यालले निर्वाचन कार्यालयको व्यवस्थापन र सहजीकरण गरेका थिए। राष्ट्रिय जनमोर्चाका रुक बहादुर पराजुली सहित स्वतन्त्रसहित दर्जनौँ उम्मेदवार मैदानमा उत्रिँदा रुपन्देही–२ को चुनाव यसपटक अत्यन्तै रोचक, प्रतिस्पर्धात्मक र बहसकेन्द्रित हुने संकेत देखिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार स्थापित शक्ति र नयाँ अनुहारबीचको भिडन्तले यस क्षेत्रको निर्वाचनलाई देशकै चासोको केन्द्रको रुपमा हेरिरहेको छ।
अझ रोचक त के छ भने ८१ वर्षिय बेलबहादुर कार्की समेत चुनावी मैदानमा उत्रिएका छन् ।











