काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार कुल मतदातामध्ये महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र अन्य सात जना रहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्लामा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएका छन्। जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई दिएको जानकारीअनुसार निर्वाचनको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
निर्वाचन क्षेत्रगत विवरण अनुसार, क्षेत्र नं. १ मा २२ मतदान स्थल र ५७ मतदान केन्द्र छन्। यहाँ महिला २५ हजार २५२ र पुरुष २३ हजार २३७ गरी कुल ४८ हजार ४८९ मतदाता रहेका छन्। क्षेत्र नं. २ मा ४० मतदान स्थल र १०० मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा महिला ४३ हजार ३९३ र पुरुष ४५ हजार ३१५ गरी कुल ८८ हजार ७०८ मतदाता रहेका छन्, जुन काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी हो।
त्यसैगरी क्षेत्र नं. ३ मा २९ मतदान स्थल र ७२ मतदान केन्द्र छन्। यहाँ महिला ३२ हजार ९२३ र पुरुष ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता छन्। क्षेत्र नं. ४ मा ३३ मतदान स्थल र ८८ मतदान केन्द्र रहेका छन्, जहाँ महिला ३९ हजार ५९९ र पुरुष ३६ हजार ५४२ गरी कुल ७६ हजार १४१ मतदाता छन्।
क्षेत्र नं. ५ मा ३१ मतदान स्थल र ९० मतदान केन्द्र तोकिएका छन्। यहाँ महिला ४० हजार ८३२, पुरुष ३७ हजार २७८ र अन्य चार गरी कुल ७८ हजार ११४ मतदाता रहेका छन्। क्षेत्र नं. ६ मा ३२ मतदान स्थल र ७९ मतदान केन्द्र छन्। यस क्षेत्रमा महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल ६७ हजार ७५९ मतदाता रहेका छन्।
क्षेत्र नं. ७ मा २९ मतदान स्थल र ७८ मतदान केन्द्र छन्। यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन्। क्षेत्र नं. ८ मा २३ मतदान स्थल र ६५ मतदान केन्द्र रहेका छन्, जहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता छन्।
क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र ९० मतदान केन्द्र तोकिएका छन्। यहाँ महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ मतदाता रहेका छन्। क्षेत्र नं. १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल ८३ हजार ३०१ मतदाता छन्।
उम्मेद्वार मनोनयनतर्फ हेर्दा, क्षेत्र नं. १ मा ३०, क्षेत्र नं. २ मा २२, क्षेत्र नं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा २७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन्। यसरी काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा गरी कुल २५७ उम्मेद्वारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।











