आज बेलुकी उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझपछि आज बेलुकी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारमाथि परेको उजुरीको जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि सुरु भई आज बेलुकी ५ बजेसम्म चल्ने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो। उहाँका अनुसार मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ एवं निर्णयपछि आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
निर्वाचन कार्यक्रमअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
निर्वाचन आयोगका अनुसार शुक्रबार देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीनवटा निर्वाचन कार्यक्रम तय गरिएको छ।
आयोगलाई प्राप्त विवरणअनुसार देशभर पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी कुल ३,४८७ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो।
उजुरी परेका उम्मेदवारहरूमा सुनसरी निर्वाचन क्षेत्र नं. २ का एक, रौतहट निर्वाचन क्षेत्र नं. १ का एक, भक्तपुर निर्वाचन क्षेत्र नं. २ का दुई र कैलाली निर्वाचन क्षेत्र नं. १ का एक जना रहेका छन्। ती उजुरीमाथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हाल जाँचबुझ भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation